काठमाडौँ, १० जेठ । राष्ट्रिय श्रम अभियान २०७२ का लागि सिन्धुपाल्चोकमा क्रियाशील रहनु भएका एकीकृत नेकपा(माओवादी) अध्यक्ष पुष्पकमल दाहालले आज सिन्धुपाल्चोकको सुकुटेमा स्वयंसेवा अभियान सञ्चालन गर्नुभयो ।
अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलकाअनुसार अध्यक्ष दाहाललगायतको टोलीले सुकुटेमा अस्थायी आवास निर्माणको सुभारम्भ गर्नुभएको छ ।
एमाओवादीले सिन्धुपाल्चोकमा सचिव वर्षमान पुन, स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको नेतृत्वमा एक हजार ५०० नेता तथा कार्यकर्ता परिचालन गरेको छ ।
यस्तै वरिष्ठ नेता डा बाबुराम भट्टराई आज धादिङको कुम्पुर गाविस–३ फिसफिसेटारका बयोवृद्ध षडानन्द थपलियाको भूकम्पले क्षतिग्रस्त घर सफा गरी नयाँ अस्थायी आवास निर्माण गर्नुभएको छ ।
डा भट्टराई नेतृत्वले टोलीले सो स्थानमा दुई दर्जनभन्दा बढी घर तथा टहरा निर्माण गरिएको उहाँका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
उता एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोलखामा केन्द्रित रहनुभएको छ । रासस















प्रतिक्रिया