
ललितपुर, १५ वैशाख । पार्टी विस्तार तथा सुदृढीकरणका लागि नयाँ पुस्ताका यूवाहरूलाई अवसर दिनुपर्नेमा एमाले नेताहरुले जोड दिएका छन् ।
आज शुक्रबार ललितपुरमा सम्पन्न ललितपुर जिल्लास्तरीय मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान २०७९ का अवसरमा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमाले ललितपुरको अर्धवार्षिक प्रकाशन ‘सूर्य’ पत्रिकाको विमोचन गर्दै युवाहरुलाई कसरी पार्टीमा आकर्षित गर्ने योजना अगाडि बढाउनुपर्ने बताएका हुन् ।
उनले अहिले चारैतर्फी समस्या र प्रहार भइरहेकाले व्यक्तिगत फाइदामात्रै नहेरी देश र समाजको भलाइतर्फ पनि ध्यान दिने बेला आएको बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका पाण्डेले बालबालिकालाई शिक्षा, बिरामीलाई उपचार, अशक्त, एकल महिला, बृद्ववृद्वालाई पेन्सन र हेरचाह, कर, अंशबण्डा, कृषिमा सुधार गर्दै उद्योग विस्तारका मुद्दामा बहस गर्न सके समाजवादको आधार खडा भई देशले फड्को मार्ने धारणा व्यक्त गरे ।
प्रविधिको उपयोग, दुरुपयोग, भोलि देखिने चुनौती र साइवर षडयन्त्रलाई अनुगमन, नियमन र नीति बनाई कार्यान्वयन गर्न जरुरी रहेको उपाध्यक्ष पाण्डेको भनाइ छ ।
त्यसैगरी एमालेका सचिव गोकर्ण विष्टले युवा पुस्तालाई आकर्षित गर्न विचार र भावना सही ढंगले प्रतिविम्बित नहुञ्जेल पार्टी नसच्चिने बताए । ‘एमालेको विकल्प एमाले नै हो । एमाले सच्चाएर जान तयार छ,’ बिष्टले भने । नयाँ र उन्नत तरिकाले अगाडि बढ्ने प्रतिवद्वता समेत उनले व्यक्त गरेका छन् ।
यसैगरी, एमालेका स्थाइ कमिटी सदस्य रघुजी पन्तले नयाँ युवा पुस्तालाई घरघरबाट पार्टीमा संलग्न गराउने अभियान थाल्नुपर्ने बताए । उनले घरधित्र समाजभित्र छुवाछुत र धर्म परिवर्तन गर्ने काम भइरहेकाले यसलाई जरैदेखि निर्मुल पार्न डटेर लाग्न आग्रह गरेका छन् ।
त्यस्तै, एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले एमालेमा युवाको उपस्थिति र भूमिका बढाउनका लागि देशमा र प्रवासमा समेत युवा संघ र अनेमसंघ खोल्नुपर्ने धारणा व्यक्त गरे । उनले सूचना प्रविधिको प्रयोगबाट पार्टीले गरेका काम र भ्रमको बारेमा चिर्न जरुरी रहेको बताएका छन् ।

आगामी निर्वाचनमा बहुमतको सरकार बनाउन सके लक्ष्यको नजिक पुग्ने एमालेका केन्द्रीय सदस्य विसमलाल अधिकारी दनुवारले बताए । मिसन ग्रासरुट अभियानका क्रममा बागमती, महांकाल र कोन्ज्योस्यम पालिकामा खटिएका उनले पालिकामा भएका जनसंगठन बैठक, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, समीक्षा बैठकजस्ता गतिविधिले हलचल राम्रै ल्याएको बताए । उनले नेकपा एमालेले बन्दुकको नालबाट राज्यसत्ता कब्जा नगर्ने स्पष्ट पारे ।
महालक्ष्मी र गोदावरीमा मिसन ग्रासरुटको नेतृत्व गरेका केन्द्रीय सदस्य धर्मदत्त देवकोटाले कार्यक्षेत्रमा कार्यतालिकाअनुरुप समीक्षा बैठक, प्रशिक्षण, कमिटीको स्थिति, उपस्थितीका कारण अराजकता हटेर विधिसम्मत चलाउने संगठनात्मक तरंग आएको बताए । ‘बाटो विराएर जानेलाई अवसर दिनुपर्छ,’ देवकोटाले भने, ‘ललितपुरमा एमालेले २०१५ सालदेखि चुनाव जितेको इतिहास भएकाले ललितपुर जिल्ला लालकिल्ला हो ।’
जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले नेकपा एमालेका अध्यक्षमाथि भएको आक्रमणको घोर भर्त्सना गरेका छन् । उनले कोशी प्रदेश नामाकरण जायज हुँदाहुँदै अध्यक्षमाथि नाजायज आक्षेप लगाएर पार्टीलाई धमिल्याउन खोज्ने तत्वहरुको विरोध गरेका छन् ।
सो अवसरमा दुई महिनासम्म चलेको मिसन ग्रासरुटमा दिनरात नभनी खट्ने नेता तथा कार्यकर्तालाई सम्मानपत्र प्रदान गरिएको थियो ।















प्रतिक्रिया