
धनगढी, २ वैशाख । नेकपा एमालेका नेताहरूले एक–अर्कालाई सिस्नो लगाएर सुदूरपश्चिमको मौलिक पर्व बिसु र नयाँ वर्ष मनाएका छन् ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीद्वारा हिजो शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले शुक्रबार मञ्चमा रहेका नेताहरूलाई सिस्नो लगाएर कार्यक्रमको उद्घाटन गरे ।
पौडेलले सिस्नो लगाएपछि अरू नेताहरूले पनि एक–अर्कालाई सिस्नो लगाए । मञ्चमा नेताहरूबीच सिस्नो लगाउने होड चलेपछि हलमा रहेका कार्यकर्ताबीच पनि एकअर्कालाई सिस्नो लगाउने प्रतिस्पर्धा चलेको थियो ।

‘बिसु पर्व सामाजिक एकता कायम गर्न महत्वपूर्ण हुने थाहा पाएपछि मैले नै यो कार्यक्रम आयोजना गर्ने सल्लाह दिएँ’ सुदूरपश्चिममा मिसन ग्रासरुट अभियानका अनुगमन कमाण्डर समेत रहेका पौडेलले भने ।
वर्षभर भएका मनमुटाव अन्त्य गर्ने, एकता र भाइचारा वृद्धि गर्ने यो पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाउन आफूले पहल लिने उनको भनाइ थियो । ‘यो पर्वको जगेर्ना गर्न जरूरी छ, यो पर्वलाई हरेक वर्ष सुदूरपश्चिममा मात्र होइन, घर–घर र टोलटोलमा मनाउन जरूरी छ,’ उनले भने ।

जसरी सुदूरपश्चिमको देउडा देशभर प्रिय बनेको छ, त्यसैगरी बिसु पर्व पनि सबैलाई मनपर्ने पर्व सावित हुने उनले विश्वास व्यक्त गरेका छन् । बिसु पर्वले विगतका मनमुटाव भुलेर एकताका साथ असल सङ्कल्प लिएर अघि बढ्ने सन्देश दिन्छ, आज बिसु पर्व मनाएपछि पनि एमालेका नेताले झैझगडा गरेमा आफूलाई जानकारी गराउन नेता पौडलले आग्रह गरे ।
सुदूरपश्चिमका नेताबीचको आपसी एकता कायम रहेमा यो प्रदेशमा एमाले एक नम्बर पार्टी बन्ने उनले विश्वास व्यक्त गरे । सबै नेता र कार्यकर्ताबीच एकता कायम हुनुपर्नेमा उपाध्यक्ष पौडेलको जोड छ ।
कार्यक्रममा एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले बिसु पर्वको औचित्यबारे प्रकाश पार्दै यो पर्व सुदूरपश्चिम, कर्णालीका साथै भारतका कुमाउ गढवालतिर पनि प्रसिद्ध रहेको बताए ।

प्रदेश अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्यद्वय विन्दा पाण्डे र कर्णबहादुर थापाले बिसु पर्वको सन्देश अनुसार पार्टी बलियो बनाउनु आपसी एकता बलियो हुनुपर्नेमा जोड दिए ।
बिसु पर्व मनाउन कैलालीको पहाडी क्षेत्रको पालिका चुरेबाट सिस्नु ल्याइएको थियो । कार्यक्रममा खाजाको रूपमा सुदूरपश्चिम प्रदेशको विशेष परिकार बटुक खुवाइएको एमाले प्रदेश कमिटी सचिव धर्मराज पाठकले जानकारी दिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नेता तथा अगुवा कार्यकर्ताको सहभागिता थियो ।















प्रतिक्रिया