– सुदीप अधिकारी
बर्दिया, ९ जेठ । संरक्षित पन्छीका रुपमा रहेका खरमुजुर यतीखेर लोप हुने अवस्थामा पुगेको छ ।
संसारबाटै लोप हुने अवस्थामा पुगेको यो खरमुजुर चरा अती संकटापन्न सूचीमा पर्ने चरा हो । वन्यजन्तु ऐन २०२९ द्धारा नेपालमा यो पन्छीलाई संरक्षित पन्छीको सूचीमा राखिएको छ । अति संकटापन्न अवस्थामा रहेको यो चरा लोप हुने अवस्थामा पुगेको भन्दै संरक्षणकर्मीले यसको संरक्षणमा चासो देखाएका छन् ।
अन्तराष्ट्रिय जैविक विविधता दिवसमा अवसरमा बर्दियाको ठाकुरद्धरामा आयोजित कार्यक्रममा संरक्षणकर्मीले खरमुजुर चरा सरक्षणमा सबै एकजुट भएर लाग्नु पर्ने धारण राखेका छन् । बर्दिया प्रकृती संरक्षण क्लवले ठाकुरद्धारामा आयोजना गरेका कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उप-महानिर्देशक फडेन्द्र खरेलले अती संकटापन्न अवस्थामा रहेको खरमुजुर चरा संरक्षणमा सबै संरक्षणप्रमी एक भएर लाग्नु पर्ने बताए । वन्यजन्तु विभागबाट यो चरा संरक्षणका लागि पहल गरिएको उप महानिर्देशक खरेलले जानकारी दिए । स्थानियस्तरमा पनि यसको संरक्षणमा सबैले चासो देखाउनु पर्नेमा उप महानिर्देशक खरेलले जोड दिए ।

खरमुजुर चरा नेपाल लगायत, भारत, बंगलादेश, भेतनाममा पाइन्छ । विश्व भरमा यो चराको संख्या करिव १ हजार रहेको बताइएको छ । नेपालमा खरमुजुर चराको वास्तविक संख्या यकीन नभएपनि करिव १ सय को हाराहारीमा यो चरा रहेको वन्यजन्तु विभागका उप– सचिव डा.महेश्वर ढकालले जानकारी दिए । कोशीटप्पु वन्यजन्तु आरक्ष, शुक्लाफाँटा आरक्ष र चितवन राष्टिय निकुञ्ज र यसका आसपासका क्षेत्रमा खरमुजुर चरा रहेका बताइएको छ । बर्दिया निकुञ्जमा एक दशक अघि यो चरा देखिएपनि हाल देखा नपरेको बर्दिया प्रकृती संरक्षण क्लवका अध्यक्ष रामबहादुर शाहीले बताए ।
खरमुजर चरा कम उचाई भएका सुख्खा घाँसे मैदानमा बस्ने गर्छ । हिजोआज घाँसे मैदान क्षेत्र नसिँदै गएको र भएका घाँसे मैदानमा वर्षेनी आगलागी हुने हुँदा यो चरा लोप हुँदै गएको संरक्षणकर्मीको ठहर छ । घाँसे मैदान कम हुँदै जानु, वन क्षेत्रमा मानवबस्तीको अतिक्रमण र अनियन्त्रित खुला चरिचरणले पनि खरमुजुर चरा संकटमा परेको संरक्षणकर्मीको भनाई छ ।

नेपालमा विगतमा खरमुजुर चराको खासै अध्ययन अनुसन्धान नभएपनि २ वर्ष अघिदेखी यसको अध्ययन अनुसन्धान सुरु गरिएको वन्यजन्तु विभागले जनाएको छ । ‘ खरमुजुर लोप हुनुको बारेमा पहिले खासै अनुसन्धान गरिएको थिएन । विगत २ वर्ष यता यसको अध्ययन अनुसन्धानमा जुटेका छै,’ वन्यजन्तु विभागका उप– सचिव डा. महेश्वर ढकालले भने ।
शुक्लाफाँटा र कोशी टप्पु आरक्षमा गरी ५ वटा खरमुजुर चरामा रेडियो कलर जडान गरि यिनीहरुको बासस्थान र यसले विचरण गर्ने स्थानका बारे अध्ययन अनुसन्धान थालिएको डा.ढकालले बताए । उनले भने, ‘अध्ययनका क्रममा यो चरा विचरण गर्न टाढा टाढा जाने गरेकोले र कुनै एक स्थानमा माध नभई ठूलो क्षेत्रमा यसको संरक्षण र सचेतनाका कार्यक्रम लागु गर्नु पर्ने देखिन्छ ।’

खरमुजुर संरक्षण गर्ने र यस्को अवस्थाका बारेमा सही सूचना पाउन नेचर गाइडहरुलाई नै बढी सक्रिय बनाउनु पर्ने डा. ढकालले बताए । संरक्षण र सचेतनाका कार्यक्रमलाई कुनै एक स्थानमा नभइ भूपरिधीय स्केलमा लागू गरे केही हदसम्म खरमुजुर चरा संरक्षणमा टेवा पुग्ने संरक्षणविद् डा.ढकालले विश्वास व्यक्त गरे ।
















प्रतिक्रिया