
काठमाडौं, २८ चैत । नेकपा एमालेले करिब दुई महिनादेखि सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान अब क्रमश: समापनतिर उन्मुख भएको छ ।
गत फागुन ५ गतेदेखि सुरू भएको अभियान वैशाख पहिलो हप्ता समापन गर्ने तयारी छ । कतिपय जिल्लामा अभियान सम्पन्न समेत भइसकेका छन् ।
यसैक्रममा चितवन, तनहुँ र बारामा मिसन ग्रासरुट अभियानका सबैजसो कार्यक्रमहरू चुनावकेन्द्रित भएका छन् भने अन्य जिल्लाहरूमा नियमित र बाँकी कार्यक्रमहरू भएका छन् ।
अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?
नवलपरासी
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेलाई जनताको व्यापक समर्थन रहेको बताउनुभएको छ । नवलपरासी सुस्ता पूर्वको देवचुली नगर कमिटीले मिसन ग्रासरूट अभियानअन्तर्गत आयोजना गरेको नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरूङले देशी विदेशी शक्तिहरू लागेर नेकपा एमाले सिध्याउन खोजेतापनि जनताको साथले गर्दा उनीहरूको सपना पूरा हुन नपाएको धारणा राख्नुभयो ।
गत मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेस, माओवादी लगायतको गठबन्धनले एमालेलाई ९ सिटमा झार्ने र समानुपातिक सहित १५/२० सिट मात्र पुर्याउने सपना देखेकोमा जनताको समर्थनले समानुपातिकमा पहिलो दल बन्दै ७९ सिट जित्न सफल भएको उहाँले बताउनुभयो । नेकपा एमाले असंलग्न परराष्ट्र नीतिमा अडिएको मुलकको एकमात्रै पार्टी भएकोसमेत उहाँले धारणा राख्नुभयो ।

पार्टीमा असल परम्परा भत्किएकाले पार्टीलाई दुरुस्त राखी जनताको भावना बुझ्दै काम गर्न मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य तिलक महतले पार्टीलाई एक ढिक्का बनाएर जनताको भावना अनुसार काम गर्न अनुरोध गर्नुभयो । उहाँले पार्टीलाई बजबुत बनाउन सिद्धान्तमा दृढ भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य जमिन्द्रमान घले, गण्डकी प्रदेश सचिवालय सदस्य तथा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने लगायत नेताहरूले धारणा राख्नुभएको थियो । कार्यक्रममा नेकपा वाईसीएल जिल्ला सचिवालय सदस्य चिरञ्जीवी पाण्डे र वाईसीएल नगर सदस्य शंकर काफ्ले माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको थियो ।
तनहुँ
बैशाख १० गते हुने उपनिर्वाचनलाइ केन्द्रित गरी नेकपा (एमाले) महिला निर्वाचन परिचालन समितिको आयोजनामा तनहुँ क्षेत्र नम्बर १ मा महिला विस्तारीत बैठक सप्पन्न भएको छ । पार्टी सचिव पद्मा अर्यालको प्रमुख आतिथ्यता र परिचालन समितिकी संयोजक कलाकुमारी ढकालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा पार्टी केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक भगवती न्यौपाने पनि सहभागी हुनुहुन्थ्यो । बैठकमा गाउँ, वडा तथा टोलमा महिलाहरूलाई निर्वाचन परिचालन गर्ने योजना बनाइएको थियो ।
बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले निर्वाचनमा एमाले र अरु पार्टीको मात्रै प्रतिस्पर्धा नभई राष्ट्रवाद र राष्ट्रघातबीच साथै विकास समृद्धि र विकास विरोधीबीचको प्रतिस्पर्धा भएको बताउनुभयो । स्वाभिमान र गुलामीलाई परास्त गर्न एमालेले जित्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
तनहुँ
वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरी तनहुँको आँबुखैरनी गाउँपालिका कमिटीको आयोजनामा गोरखा जिल्लाका नेता कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी सचिव पद्मा अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । गोरखाबाट तनहुँ बसाई सरेर आउनुभएका मतदाताहरूलाई नेकपा (एमाले) का उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरिएको छ ।
गोरखा
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले नीतिहिन र सिद्धान्तहिन काङ्ग्रेस र माओवादीको गठबन्धन छिट्टै टुट्ने बताउनुभएको छ ।

मिसन ग्रासरूट अभियानअन्तर्गत गोरखाको सहिद लखन थापा गाउँपालिका कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा बोल्दै अधिकारीले माओवादी कम्युनिष्टको नाम बेचेर सत्ताका लागि सम्झौता गर्ने नक्कली कम्युनिष्ट भएको बताउनुभयो ।
आफ्नो पद जोगाउन सत्ताका लागि काङ्ग्रेसलाई बोकेर हिड्नेहरू कम्युनिष्ट पार्टी र कम्युनिष्ट हुन नसक्ने उहाँको भनाई थियो । एमालेले जनता र कार्यकर्ताको शिर तल पर्ने गरि कहिल्यै काम नगर्ने उहाँको धारणा छ ।
तनहुँ

तनहुँको भानु नगरपाालिका वडा नम्बर १ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारीको सन्दर्भमा कार्यकर्ता भेला, वडा नम्बर ६ मा निर्वाचन परिचालन कमिटीको सम्पर्क कार्यलयको उद्घाटन र वडा नम्बर १० मा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य मायानाथ अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
हुम्ला
नेकपा एमालेका केन्द्रीय सदस्य निरज आर्चायले हुम्ला जिल्लाका सबै स्थानीय तहमा विकास किन्ने जस्तो घातक प्रवृति हावी भएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल हुम्लाले सिमकोटमा आयोजना गरेको ‘फेरि भेटौला’ कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा मिसन ग्रासरूट अभियानका केन्द्रीय प्रतिनिधि आचार्यले हुम्लाका सातवटै स्थानीय तहमा एमाले प्रतिपक्ष भएकै कारण गाउँमा नागरिकलाई विकास किन्नु पर्ने अवस्थाको सृजना भएको धारणा राख्नुभयो ।

अपवित्र गठबन्धनले तीनै तहका सरकारदेखि विद्यालयको व्यवस्थापन समिति र उपभोक्ता समितिसम्म कब्जा गर्ने कुत्सित मनसयाकै कारण गाउँका नागरिकमा विकास किन्नुपर्ने भाष्य स्थापित भएको उहाँले बताउनुभयो ।
एमालेले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरूट अभियानले जिल्लाका ४३ वटै पालिकाका नागरिकलाई जागरुक बनाउने काम गरेको र निर्वाचित जनप्रतिनिधि भएका पालिकामा पालिका सभादल निर्माण गरेर भ्रष्टाचारकाविरुद्धमा आवाज उठाउन जागरुक बनाउने काम भएको उहाँले जानकारी दिनुभयो । हुम्लाका जनताको जनजीवन अहिलेपनि आधारभूत आवश्यकता परिपूर्तिमै संर्घषरत रहेको उहाँले बताउनुभयो ।
कालिकोट
नेकपा (एमाले) केन्द्रीय सदस्य दल रावलले ‘मिसन ग्रासरुट’ अभियान पार्टी भित्रको आन्तरिक समस्या पहिल्याउने अस्त्र भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कालीकोट शाखाले मान्ममा आयोजना गरेको शुभकामना आदानप्रदान तथा फेरी भेटौला कार्यक्रमलाई सम्बोधन गर्दैै कालीकोटका केन्द्रीय प्रतिनिधि समेत रहनुभएका रावलले पार्टीले देशैभर सञ्चालन गरेको अभयानले पार्टी र देशका सबै वस्तीहरूका समस्याको पहिचान गर्ने काम भएको बताउनुभयो ।

समृद्ध देश बनाउने कामको नेतृत्व एमाले बाहेक अन्य कुनैपनि दलले गर्न नसक्ने बताउदै उहाँले राजनीतिक देशैभर एकै समय पार्टीका सांगठनिक र सामाजिक विषयमा केन्द्रीय नेताहरू परिचलान गरेर ठूलो अध्ययनको काम ग्रासरूट अभियानमा भएको धारणा राख्नुभयो । देश र जनताका वास्तविक समस्यामा आधारित नीति तथा कार्यक्रम निर्माणका लागि यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
पार्टीभित्रको दुई लाइन संघर्षका नाममा केही समस्या टोल कमिटीसम्मै भएको जानकारी सबैतिरबाट आएको बताउँदै रावलले यस्ता समस्याको समाधान गर्न पार्टी केन्द्रले फेरी यस्तै खाले अर्को अभियान सञ्चालन गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले अभियानका क्रममा कालिकोट बासिन्दाले एमालेलाई दिएको माया र शुभेक्षाको खुलेर प्रशंसा गर्नुभयो ।
कालिकोटको विकट बस्तीकी ९० बर्षिया बृद्वाले पार्टी सदस्यता पाउँ भनेर आग्रह गर्दा आफूलाई निकै खुसि लागेको उहाँले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय प्रतिनिधि तर्कबहादुर शाहीले पार्टीमा देखिएका समस्या समाधान गरी पार्टी संगठनलाई चुस्त र दुरुस्त राख्न अभियान सञ्चालन गरिएको धारणा राख्नुभयो ।
मुगु
नेकपा एमालेले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरूट मुगुमा पनि सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य नवराज रावतको प्रमुख आतिथ्यता र जिल्ला कमिटी उपाध्यक्ष कर्णबहादुर मल्लको अध्यक्षमा आयोजित दुई दिने समिक्षा बैठकबाट अभियान समापन गरिएको जिल्ला कमिटी उपाध्यष कर्णबहादुर मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाभर ६० प्रतिशत भन्दा धेरै नवीकरणको काम सम्पन्न भएको छ भने केही नयाँ सदस्यता फारम भरीएको र केही अहिले पनि नवीकरण साथै नयाँ सदस्यता वितरण भइरहेको छ । कार्यक्रममा प्रदेश कमिटिका सदस्यहरू, जिल्ला कमिटीका उपलब्ध सदस्यहरू र गाउँकमिटिका अध्यक्षहरूको संयुक्त बैठकले २ महिना सम्म निरन्तर अभियानमा रहेका केन्द्रीय सदस्य द्वयलाई सम्मान समेत गरीएको थियो ।















प्रतिक्रिया