
नवलपुर, २८ चैत । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेलाई जनताको व्यापक समर्थन रहेको बताएका छन् ।
मिसन ग्रासरुट अभियानअन्तर्गत नवलपुरको देवचुली नगरपालिका कमिटीद्वरा आज आयोजित नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले देशी–विदेशी शक्तिहरू लागेर नेकपा एमाले सिध्याउन खोजे पनि जनताको साथले त्यस्तो कुत्सित सपना पूरा हुन नपाएको बताएका हुन् ।
गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेस माओवादीलगायतको गठबन्धनले एमालेलाई ९ सीटमा झार्ने र समानुपातिकसहित १५/२० सीटमा सीमित गर्नेगरी घेराबन्दी गरेको भए पनि जनसमर्थनबाटै एमालेले ७९ सीट जित्दै लोकप्रिय पार्टी बन्न सफल भएको बताए ।

पार्टीमा असल परम्परा भत्किएकाले पार्टीलाई दुरुस्त राखी जनताको भावना बुझ्दै काम गर्न मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको चर्चा गर्दै उपमहासचिव गुरुङले पार्टीभित्र देखिएको अनुशासनहीन कुराहरू, अराजक व्यक्तिहरू, पार्टीभित्र रहेका व्यक्तिवादी चिन्तनहरूको अन्त्य गर्नका लागि अभियान देशभर नै सञ्चालन गरिएको उनको भनाइ थियो । ‘व्यक्ति भन्दा नीती ठूलो हो, हामी पार्टीको सिद्धान्त अनुसार अघि बढ्नुपर्छ, नत्र पार्टी कमजोर हुन्छ,’ उनले भने ।
कार्यक्रममा केन्द्रीय सदस्य तिलक महतले पार्टीलाई एक ढिक्का बनाएर जनताको भावना अनुसार काम गर्न अनुरोध गरे । उनले पार्टीलाई मजबुत बनाउन सिद्धान्तमा दृढ भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

यस्तै, केन्द्रीय सदस्य जमीन्द्रमान घले, गण्डकी प्रदेश सचिवालय सदस्य तथा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने, एमाले जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेलगायतले भेलालाई सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेकपा वाईसीएल जिल्ला सचिवालय सदस्य चिरञ्जीवी पाण्डे र वाईसीएल नगर सदस्य शंकर काफ्ले माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई उपमहासचिवसहित नेताहरूले पार्टीमा स्वागत गरे ।
मिसन ग्रासरुट अभियानअन्तर्गत भएको भेला देवचुली नगर कमिटी अध्यक्ष कृष्णबहादुर विकको अध्यक्षता तथा सचिव डिलाराम पाण्डेको सञ्चालनमा भएको थियो । देवचुलीमा भएको भेलामा पार्टीका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति थियो ।















प्रतिक्रिया