
काठमाडौं, ९ चैत । नेकपा एमालेले सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्तर्गत आज पनि काठमाडौंसहित देशका विभिन्न ठाउँमा कार्यक्रमहरू भएका छन् ।
कार्यक्रमहरूलाई सम्बोधन गर्ने क्रममा पार्टीका पदाधिकारी र केन्द्रीय नेताहरूले अब एमाले सरकार बनाउने र ढाल्ने खेलको छिनाझपटीमा नलाग्ने बताएका छन् । पार्टीलाई बहुमतसहित सरकारमा पुर्याउन सके मात्रै मुलुकको सर्वाङ्गिण विकास गर्न सकिने बताउँदै उनीहरूले त्यसैका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताएका छन् ।
काठमाडौं
नेकपा एमालेले सुरु गरेको पार्टी वितार तथा सुदृढीकरण अभियान मिसन ग्रासरूतअन्तर्गत काठमाडौंको टोखा नगरपालिकाको ११ वटै वडामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी बलियो बनाउन आग्रह गर्नुहुँदै संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्ने बताउनुभयो । पार्टीको कार्यनीति र समाजबादको लक्ष्यको बिषयमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा पार्टी सचिब गोकर्ण बिष्टले विगतको चुनावमा पॉच दल मिलेर एमालेलाई हराउन खोजेको बताउदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीलाई बलियो बनाउन अहोरात्र खट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । वामपन्थी एजेन्डा र सहयात्री छाडेर माओवादी दक्षिणपन्थमा हिंडिरहेको उल्लेख गर्दै सचिव बिष्टले कुनै बेला कम्युनिष्टमाथि झुटा आरोप लगाउने कांग्रेस आज माओवादीबिना बाँच्न नसक्ने भएको बताउदै माओवादी अवसरवादी दक्षिणपन्थी भासमा डुबेको धारणा राख्नुभयो ।
माओवादी लगायतका इमानदार कम्युनिस्ट नेता–कार्यकर्ताले अब एमालेमा आउनु बाहेकको कुनै विकल्प नभएको उहाँले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश कमिटीका सदस्य ईश्वर बिडारी, जिल्ला अध्यक्ष दिपक निरौला लगायतले धारणा राख्नुभएको थियो ।
मुस्ताङ
मिसन ग्रासरूट अभियानअन्तर्गत हिमाली जिल्ला मुस्ताङमा यही चैत्र १८ गतेवाट कार्यक्रमहरू सुरु हुँदैछन् । पहिलो दिन जिल्ला कमिटीको विस्तारित वैठकबाट अभियानको शुभारम्भ गर्ने कार्ययोजना रहेको पार्टी केन्द्रीय सदस्य तथा अभियानका केन्द्रीय प्रतिनिधि गोविन्द बहादुर नेपालीले जानकारी दिनुभयो ।
विस्तारित वैठक तथा अभियान शुभारम्भ कार्यक्रममा पार्टीका केन्द्रीय सचिव, प्रदेश इन्चार्ज तथा अभियानको अनुगमन संयोजक पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यता रहने पनि उहाँले जानकारी दिनुभयो । यस्तै कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी लगायतका नेताहरू पनि सहभागी हुने उहाँले बताउनुभयो ।
जुम्ला
मिसन ग्रासरूट अभियानअन्तर्गत जुम्लाको पातारासी गाउँपालिमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलको प्रमुख आतिथ्यता र पालिका कमिटी अध्यक्ष विष्णु बुढाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कँडेलेले प्रशिक्षण दिनु भएको थियो भने केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका पार्टी केन्द्रीय सदस्यद्वय विष्णु रिजाल र नगिन्द्र शाही (नेसनल) साथै प्रदेश कमिटी सदस्य तथा जिल्ला पार्टी अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य जयबहादुर खत्रि, हंस बहादुर बुढा, नन्दबहादुर खत्रि लगायत नेताहरूले मन्तव्य राख्नुभएको थियो ।
कपिलवस्तु
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् मोर्चा संयन्त्रका संयोजक भानुभक्त ढकालले वाम आन्दोलनको मूल नेतृत्व एमालेबाट मात्र संभव रहेको दावी गर्नुभएको छ ।
मिसन ग्रासरूट अभियानअन्तर्गत कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाको नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ढकालले अन्य वामपंथी राजनैतीक दल नेपाली कांग्रेसका सहयोगी पार्टीका रूपमा मात्र काम गरेको चर्चा गर्दै नेपाली वामपंथी आन्दोलनको नेतृत्वमा एमालेको विकल्प नरहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेता ढकालले सामुहिक ढंगले सेवा भावबाट राजननीक आन्दोलनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नु भयो । समृद्व नेपाल, सुखी नेपालीको परिकल्पना पूरा गर्ने काम एमालेबाट मात्र संभव रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई अर्का स्थायी कमिटी सदस्य राजन भट्टराईले पनि सम्बोधन गर्नुभएको थियो । भट्टराईले मिसन ग्रासरुट अभियान मार्फत जनताका कुरा, जनताका समस्या जनताकै घर आगनमै सुन्ने अभियानका रूपमा अभियान संचालन गरिएको बताउनुभयो । उहाँले पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्व स्थापित गर्ने अभियानकारूपमा समेत अभियान संचालन हुने धारणा व्यक्त गर्नुभयो ।
रोल्पा
मिसन ग्रासरूट अभियानअन्तर्गत रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर १ कुरेली, २ को राङ्सी , ३ को कर्तम, ४ को पाछाबाङ, ६ को थुनीकोटमा अगुवा कार्यकर्ता भेला एवं जन भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी पोलिट्ब्यूरो सदस्य खेममान खडकाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू प्रेम घर्ती, लोकेन्द्र घर्ती, जिल्ला कमिटी उपाध्यक्ष बिजय घर्ती लगायत नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।
जुम्ला
नेकपा एमालेले सुरु गरेको पार्टी विस्तार तथा सुदृढीकरण अभियान मिसन ग्रासरूटअन्तर्गतका कार्यक्रमहरू काठमाडौंलगायत देशैभर उत्साहका साथ भइरहेका छन् । यसैबीच, जुम्लाको चन्दननाथ नगरपालिका–१०, पिपलगाउँमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

अभियानका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका पार्टी केन्द्रीय सदस्य विष्णु रिजालको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष दिलबहादुर शाहीको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलाले वडामा भइरहेको सदस्यता नवीकरणको समीक्षा गर्दै बाँकी कामका लागि कार्यविभाजन गरेको छ । भेलालाई सम्बोधन गर्दै प्रचार विभाग उपप्रमुखसमेत रहनुभएका रिजालले अहिलेको सरकार जनविरोधी रहेको कुरा सरकारको एकपछिका अर्का निर्णयहरूले पुष्टि गरिरहेको बताउनुभयो ।
मुस्ताङमा बौद्ध विश्वविद्यालयका नाममा मुलुकलाई विदेशीको अखडा बनाउने, भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगर्ने, कृषि मलमा अनुदान घटाउने जस्ता जनविरोधी निर्णयहरू नेकपा एमालेकै दबावका कारण रोकिएका उहाँले बताउनुभयो ।
काभ्रेपलाञ्चोक
मिसन ग्रासरूट अभियानअन्तर्गत काभ्रेको तिमाल गाउँपालिका वडा नं. २ कमिटीको विस्तारीत बैठक सम्पन्न भएको छ । केन्द्रीय सदस्य यामबहादुर परियारको प्रमुख आतिथ्यता र कमिटीका अध्यक्ष वीर नन्द तामाङको अध्यक्षता बैठक बसेको हो ।

बैठकमा प्रदेशसभा सदस्य ज्ञान बहादुर तामाङ, प्रदेश कमिटी सदस्य भक्तकुमारी लामा र प्रेस चैतारीका महासचिव हिरामान लामाले मिसन ग्रासरुटको उद्देश्यबारे चर्चा गर्नुभएको थियो । तिमाल गाउँपालिकाको वडा नं. ८ कमिटीको विस्तारीत बैठक पनि सम्पन्न भएको छ ।
दोलखा
नेकपा एमालेको पार्टी विस्तार तथा सुदृढीकरण अभियान मिसन ग्रासरूटअन्तर्गत दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर २ भिरकोटमा नेकपा एमाले वडाकमिटीको बैठक सम्पन्न भएको छ । केन्द्रीय सदस्य सुवास देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले वसन्त थापाको संयोजकत्वमा ११ सदस्यीय वडा समन्वय संयन्त्र गठन गर्नुको साथै टोलस्तरमा ७ वटा टोल कमिटी निर्माण गर्ने निर्णय भएको छ ।

यस्तै, बैठकले सदस्यता नवीकरण, नयाँ सदस्यता बिस्तार, जनसङ्गठनहरूको संयुक्त भेला–प्रशिक्षण लगायतका कार्ययोजनासमेत निर्माण गरेको छ । बैठकमा प्रदेश कमिटी सदस्य डबल पाण्डे, पालिका इन्चार्ज देवी फँुयाल, पालिका अध्यक्ष उर्मिला खड्का लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
सप्तरी
मिसन ग्रासरूट अभियानअन्तर्गत सप्तरीको डाक्नेश्वर नगरपालिकामा नेकपा एमालेको सभादलको बैठक बसेको छ । अभियानका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका केन्द्रीय सदस्य सञ्जिब झा प्रमुख आतिथ्यता र सभादलका नेता एबम पालिकाका मेयर रामलखन मल्लाहको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकमा एमालेबाट निर्वाचित उपमेयर मिरा यादब, वडा अध्यक्षहरू करनदेब चौधरी, पुन्जिलाल चौधरी, सिताराम पण्डित, रमेश चौधरी साथै वडा सदस्य र र कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
जुम्ला
मिसन ग्रासरूट अभियानअन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिकामा पार्टीका जनप्रतिनिधिहरूको बैठक सम्पन्न भएको छ ।
पार्टी स्कुल विभाग सदस्य गेहेन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न बैडकले प्रेमबहादुर पछाइलाई गाउँ सभादलको नेता र उप नेतामा विमला भण्डारीलाइ निर्वाचित गरेको छ ।
उदयपुर
मिसन ग्रासरूट अभियानअन्तर्गत उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर–२ मा कार्यक्रम सम्पन्न भएको छ ।

वडा कमिटीका अध्यक्ष जीवन खत्रीको अध्यक्षमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सदस्य पदम राई, शम्भु पौडेल, दिल बहादुर तामांग, सुर्य डाँगी लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो । कार्यक्रमकैबीच नेपालीका काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएका कैलाश राईलाइ स्वागतसमेत गरिएको थियो ।
बागलुङ
मिसन ग्रासरूट अभियानअन्तर्गत बागलुङको बागलुङ नगरपालिका–८ सिगानामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सिगानामा एमालेको संगठन विस्तार, सदस्यता नवीकरण तथा एमालेको बैचारिक सिद्धान्तलाई घर–घरमा पुर्याउन आवश्यक रहेकोमा सहभागी नेताहरूले जोड दिनुभएको थियो ।
गण्डकी प्रदेश कमिटी सदस्य लिला रानाको प्रमुख आतिथ्यता र गाउँपालिका कमिटीका उपाध्यक्ष जगत जिसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य रानाले ग्रासरुट अभियानमार्फत पार्टीका सम्पूर्ण कमिटी र जनसंगठनहरूको वैठक, भेला लगायत रचनात्मक क्रियाकलापलाई महत्वपूर्ण ढंगले अगाडि बढाउन सहयोग पुगेको बताउनुभयो ।

उहाँले एमाले र एमालेले अंगिकार गरेका सिद्धान्तका कारण अहिले एमालेप्रति जनलहर आइरहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीले ग्रासरुटमार्फत एमाले झनै बलियो र सशक्त भएर आएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएका ५० जना नवप्रवेशीहरूलाई स्वागतसमेत गरिएको थियो । यस्तै, पार्टीमा अतुलनीय योगदान पुर्याउनुभएका जेष्ठ कार्यकर्ताहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो ।















प्रतिक्रिया