काठमाडौं, १९ जेठ । बाँके जिल्लाका सामुदायिक वनका रुख काटेर एक करोड रुपियाँ भन्दा बढी रकम भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालयका अधिकारीसहित २९ जनाबिरुद्ध मुद्दा दायर गरेको छ ।
तत्कालीन वन अधिकारीसहित सामुदायिक वनका अध्यक्ष तथा सचिवहरुबिरुद्ध अभियोगपत्र अदालतमा दायर गरेको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।
२९ जनाबिरुद्ध कुल १६ हजार ३ सय ४४ दशमलव ३३ क्युफिट काठ हिनामिना एवं हानी नोक्सानी गरी एक करोड तीन लाख चौरानव्वे हजार छसय उनान्चास रुपियाँ बराबरको भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ ।
जिल्ला वन कार्यालय, बाँकका तत्कालीन अधिकृत श्यामप्रसाद शर्मा र उपसचिव(प्रा.) विश्वनाथप्रसाद महतो, सहायक वन अधिकृत महन्थ प्रसाद पण्डित, भीमप्रसाद पौडेल, अमर प्रसाद साह, अवकाश प्राप्त सहायक वन अधिकृतहरु बालकृष्ण प्रसाद पटेल र कृष्णवल्लभ लाल कर्णसमेतका ७ जना कर्मचारीहरुले गैर कानूनी लाभ गरेको अभियोग अख्तियारले लगाएको छ ।
त्यसै गरी, सामुदायिक वनका अध्यक्षहरु मीना खड्का, श्रीमती कल्पना खड्का, श्रीमती डीलादेबी वली, श्रीमती सुनिता चौधरी, मीनकुमार खड्का, एकराज भण्डारी, चेत बहादुर पुन, खिम बहादुर खड्का, प्यारी गिरी, श्रीमती कृष्ण विक र उपाध्यक्ष सृजनाकुमारी कुमालबिरुद्ध पनि मुद्दा दायर भएको छ ।
मुद्दा दायर हुनेमा सामुदायिक वनका सचिवहरु युवराज खड्का, खुमा विक, चुर्ण कुमारी खत्री, शान्ता बस्नेत, भैरव खड्का, लीला कुमाल, डीला महतारा, यमा रिजाल, गंगाधर खत्री, सुरेस महरा र श्रीमती तारा भण्डारीलगायत २२ जना उपर भ्रष्टाचार निवारण ऐन अनुसार सजाय र बिगो जरिवाना माग गरिएको छ ।
केही महिना अघि बाँके जिल्लाका प्रगतिशील सामुदायिक वन उपभोक्ता समूह, जराटाकुरी महिला सामुदायिक वन उपभोक्ता समूह, लालमाटी महिला सामुदायिक वन उपभोक्ता समूह, मनकामना महिला सामुदायिक वन उपभोक्ता समूह, पाथिभरा सामुदायिक वन उपभोक्ता समूह, रामेश्वर सामुदायिक वन उपभोक्ता समूह, सतीभवानी सामुदायिक वन उपभोक्ता समूह, सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समूह, सुन्धारा धारापानी सामुदायिक वन उपभोक्ता समूह, सुनसरी सामुदायिक वन उपभोक्ता समूह, तिलकन्या हरियाली महिला सामुदायिक वन उपभोक्ता समूह समेतका ११ वटा सामुदायिक वनहरुमा साल, सिसौ, खयर अबैध रुपमा कटान भएको थियो ।
सो विषयमा उजुरी परेपछि अख्तियारले आरोपित सबैलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।













प्रतिक्रिया