– कालिका खड्का
धादिङ, ७ जेठ । ‘घरबास’का रूपमा निकै चर्चित पर्यटकीय स्थान पात्ले गाउँलाई विनाशकारी भूकम्पले ध्वस्त भएपछि अझ व्यवस्थित रूपमा नमुना घरबास गाउँमा बनाउन स्थानीय बासिन्दा जुटेका छन् ।
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले धादिङ खाल्टे–१ पात्ले गाउँमा रहेका सात वटा घरबास एकै छिनमा जमिनमा मिलेपछि सुरुमा पीडामा परेका बासिन्दा अहिले आफ्नो गाउँ आफैँ बनाउन एकजुट भएका हुन् ।
दुई घर घरबासका रूपमा चलाइरहनुभएकी स्थानीय छक्कली गुरुङले भन्नुभयो, “भुइँचालोले एकछिनमा सबै घर हेर्दाहेर्दै खत्तम भयो, अब चिन्ता गरेर बसेर पनि काम छैन, सबै मिलेर नमुना गाउँ बनाउने तयारीमा लागेका छौँ ।”
स्थानीय बासिन्दा छक्कली गुरुङले दुई घर घरबासका रूपमा चलाउनुभएको थियो । साथै उहाँले रु सात लाख खर्च गरेर बाख्रा फार्म पनि भर्खरै सुरु गरी ४० वटा बाख्रा पाल्नुभएकोे थियो । भूकम्पले घरबास र बाख्रा फार्म दुवै खत्तम भयो । बाख्रा फार्म भत्किँदा दुई बाख्रा मरेका छन् भने १० बाख्रा घाइते भएका छन् । तिनीहरूलाई कता राख्ने भन्ने चिन्ता छ उहाँलाई ।
घरबास सञ्चालन गरिरहनुभएका गाउँका क्रियाशील युवा शेरबहादुर तामाङले प्राकृतिक विपत्तिले सबै पीडामा भएको अवस्थामा छटपटाएर बस्ने बेला नभएको भन्दै नमुना घरबास गाउँको विकासमा लाग्नुभएको छ ।
पात्ले तामाङ बस्तीमा पहिलो एसएलसी पास गर्न सफल भएका तामाङले भन्नुभयो, “भूकम्पले सबै बस्ती सखाप छ, घरबास खत्तम भो भनेर गालामा हात लगाएर पीडामा बस्नु ठीक होइन, महाविपत्तिलाई महाअवसरका रूपमा विकास गाउँबासी जुट्नुपर्छ ।”
घर, बस्तु, बाख्रा, अन्न, कपडा, भाँडाकुँटा गुमाएर चिन्तामा परेका बासिन्दालाई सम्झाइबुझाई निर्माणका लागि एकताबद्ध भएर जुट्न निरन्तर झक्झक्याएर तत्कालका लागि टहरा निर्माण भइसकेको छ ।
अब त्यहाँका बासिन्दा पहिलाको भन्दा अझ सुन्दर, सुरक्षित र सस्तोमा घरबासका घर निर्माण गर्न लागिपरेका छन् । बीचमा सडक दायाँबायाँ एकै ढाँचाका, एकै आकारका घर निर्माण गर्न लागेका हुन् ।
“गाउँमा एम्बुलेन्स र यातायात जान सक्ने एकै ढाँचामा घरबासका घर बनाउन सहयोगी संस्थाहरूसँग आग्रह गरेका छौँ, सरकारले अस्थायी घर निर्माण गर्न दिएको पैसा पनि त्यसैमा लगाउने तयारीमा छौँ ।”
पाल्ते गाउँमा जम्मा ९७ घर रहेकामा सबै घर पूर्णरूपमा क्षति भएका छन् । पाँच घर गिरीका छन् भने बाँकी सबै गुरुङ बस्ती हो । कतै–कतै एउटा÷दुई वटा घर ठाडो देखिए पनि चिराचिरा परेर बस्न त के खाद्य सामग्री र लत्ताकपडासमेत निकाल्न सकिएको छैन । सरकारी टोलीको प्रतिवेदनअनुसार पनि पूर्णरूपमा घर क्षति भएको उल्लेख छ ।
तत्काल व्यवस्थित रूपमा घर बनाउन सक्ने अवस्था नभएपछि स्थानीय बासिन्दा सबै मिलेर अस्थायी टहरा निर्माण गरिसकेका छन् । गाउँको विकासका निम्ति सबै गाउँले आपसमा मिलेर खटेका छन् ।
पहिला पर्यटकीय नगरीका रूपमा परिचित गाउँलाई पुनः अझ व्यवस्थित पर्यटकीय स्थान बनाउन व्यवस्थित रूपमा सुन्दर पर्यटकीय गाउँ बनाउनका लागि स्थानीयको पहलमा डोजर लगेर भत्किएका संरचनालाई पन्छाई नयाँ संरचना निर्माण गर्न लागिसकेका छन् ।
“भूकम्पले सबै भत्काइहाल्यो, ढिलो चाँडो घर बनाउनैपर्छ, बनाउनुपर्ने भएपछि सबै एकै किसिमको नमुना गाउँ किन नबनाउने ? नमुना गाउँमा बनाउनका लागि आर्किटेक्चरले डिजाइन गर्दै हुनुहुन्छ” गाउँको विकासमा निरन्तर क्रियाशील युवा तामाङले थप्नुभयो ।
सो गाउँमा रहेका ९७ घरमध्ये पहिला घरबासका रूपमा रहेको स्थानमा अहिले ३८ घर घरबासका रूपमा बनाउने तयारी भएको छ । स्थानीय स्रोत र साधनको प्रयोग गरी सकेसम्म कम लगानीमा बनाउने प्रयास गरेका छन् ।
कम्तीमा पनि एउटा घरबास घर निर्माण गर्न कम्तीमा रु तीन लाख र बढीमा रु पाँच लाखसम्म लाग्न सक्छ । त्यसले गर्दा रु तीन लाखको हिसाबले गर्दा पनि ३८ घरबास घर निर्माण गर्न रु एक करोड १४ लाख आवश्यक पर्छ । त्यो रकम सबै गाउँलेकै कमाइबाट सम्भव छैन । त्यसकारणले गर्दा उनीहरूले दातृ निकायहरूसँग सहयोग गर्न आग्रह गरेका छन् ।
नमुना घरबास र स्थानीयका श्री शङ्खादेवी माध्यमिक विद्यालयको पुनःनिर्माणका लागि सहयोगस्वरुप अल नेपाल एड्भेन्चर टुर एन्ड टेक्स प्रालिका प्रबन्ध निर्देशक पीताम्बर गुरुङले जापानका नागरिकको सहयोगमा बुधबार रु तीन लाख ५५ हजार स्थानीय क्रियाशील युवा शेरशहादुर गुरुङलाई प्रदान गर्नुभयो ।
पर्यटकका रूपमा पात्लेस्थित घरबासमा बसेर फर्किनुभएका जापान बस्ने कोरियन नागरिक ऐन हायन ली र उहाँका पत्नी आया लीले आफू बसेको घरबासका मालिक धनबहादुरलाई सहयोगस्वरुप रु ५५ हजार पठाउनुभएको पनि प्रबन्ध निर्देशक गुरुङले धनबहादुरलाई हस्तान्तरण गर्नुभयो ।
आफ्नो स्थायी घर रामेछाप भएका गुरुङले पहिलादेखि पर्यटकीय नगरीको विकासका लागि आफूहरूले सहयोग गरिरहेको गाउँमा मायाले आफूहरूले सो गाउँको विकासका लागि जापानी नागरिकहरूसँग सहयोगका लागि अपिल गरेको बताउनुभयो ।
“सङ्घ/संस्थाहरूबाट सहयोग जानुभन्दा सिधै जाँदा काम पनि देखिन्छ”, प्रबन्ध निर्देशक गुरुङले जोड्नुभयो, “पछि जापानी वा अरु कोही सहयोगी नेपाल आएर आफूले दिएको रकम सदुपयोग भए÷नभएको हर्ने पनि मिल्छ, त्यसले गर्दा जसले सहयोग गर्न चाहन्छ, सिधै गरोस् भन्ने मेरो चाहना छ ।”
विगतदेखि नै गाउँको शिक्षा, स्वास्थ्य, शौचालयको सहयोग गर्दै आउनुभएकी जापानी नागरिक डा युकी इतोले भन्नुभयो, “आफ्नो पहलमा बनाएको विद्यालय, शौचालय भूकम्पले भत्काएपछि दुःख लागेको छ, त्यसको पुनःनिर्माणका लागि सामाजिक सञ्जाल (फेसबुक) र इमेलबाट साथीहरूलाई सहयोगका लागि अपिल गरिरहेको छु ।”
सो अवसरमा अल नेपाल एड्भेन्चर टुर एन्ड टेक्स प्रालिका प्रबन्धक दिल्ली गुरुङले गाउँमा घर भत्किँदा गर्मी महिनामा लामखुट्टेले निकै दुःख दिएको भन्दै सहयोगस्वरुप जापानी नागरिककै सहयोगमा ९७ घरधुरीलाई प्रतिपरिवार दुई÷दुई वटा झुल वितरण गर्नुभयो ।
भूकम्पपछि अस्थायी टहरामा लामखुट्टेका कारण राति सुत्न निकै कठिनाइ परेको र झुलले आफूहरू लामखुट्टेको टोकाइबाट बच्नेमा स्थानीय गोमा गुरुङले खुसी व्यक्त गर्नुभयो । रासस




![e+}rfnf]n] eTsfPsf] 3/df lg/fz d'b|fdf a;L/x]sf wflbª a;]/Lsf :yfgLoaf;L . ;/sf/n] xfn;Dd /fxt pknAw gu/fPsf] eGb} pgLx? cfqmf]lzt ePsf 5g . tl:a/ M/d]z nD;fn, /f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/05/bhukampa-Dhading-4.jpg)











प्रतिक्रिया