५ कार्तिक २०८३, बिहिबार

दुवै खुट्टा गुमाएर पनि अरुलाई सान्त्वना दिँदैछन् साहसी रमेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अन्जली रम्तेल

काठमाडौँ, ७ जेठ । “आमा म बाँच्दिन यो दुखाई सहन सक्दिनँ” भूकम्पपछि दुवै खुट्टा गुमाएका सोलुखुम्बु सल्यान–७ का १४ वर्षीय सन्देश बस्नेत आफ्नो पीडा आमालाई पोख्दै थिए ।

छोराको पीडा सहन नसकी उनकी आमा पशुपति बस्नेत अर्कोपट्टि फर्किंदै आँसु पुछ्दै थिइन् । उनी आफ्नो छोरालाई हिम्मत नहार्न आग्रह गर्दै थिइन् ।

ठीक त्यसैबेला ह्विलचियर चलाउँदै सान्त्वना दिन आइपुगे दैलेख बाँसी–३ का १८ वर्षीय रमेश खत्री । “हेर भाइ यसरी हरेश खानु हुन्न । म पनि तिमी जस्तै त छु नि हेर त । मेरा पनि दुवै खुट्टा छैनन् । तर सबैतिर घुम्दै तिमी भएको ठाउँमा पनि आइपुगेँ”, उनले भने ।

रमेश सन्देशलाई आफूसँगै बाहिर घुम्न हिँड भनिरहेका थिए । “यहाँ बस्यो भने पीडा भइरहन्छ बाहिर घुम्न हिँड पीडा भुल्छौ आनन्द महसुस हुन्छ । अब रोएर कराएर केही हुँदैन दैवले हामीलाई नयाँ जीवन दियो त्यसैमा रमाउन सिक्नुपर्छ भाइ ।”

दुवै महाराजगन्जस्थित टिचिङ अस्पतालको चौथो तलामा रहेको श्ययामा थिए । दुवैको पीडा एउटै थियो । दुवैले आफ्ना खुट्टा गुमाएका थिए ।

रमेशले आफूले खुट्टा गुमाए पनि अरुलाई आफ्नो पीडा देखाउनेभन्दा हिम्मतका साथ काम गर्न आग्रह गरिरहेका थिए ।

आफ्नै गाउँमा कक्षा १० मा अध्ययनरत रमेश कामविशेषले साथीहरुसँग काठमाडौँ आएका थिए ।

रमेश र उनका साथीहरु काठमाडौँको नयाँ बसपार्कस्थित भूमेश्वरी गेष्टहाउसमा बसेका थिए । उनका सबै साथी काठमाडौँ घुमघाम गरी घर फर्किसकेका थिए । तर उनको भने केही काम बाँकी रहेकाले काठमाडौँ रोकिए । मेरो योजना १२ गतेकै दिन ‘नाइट’ गाडीमा घर जाने थियो त्यसैले टिकटसमेत मिलाइसकेको थिएँ, उनले भने ।

दिउँसो खाना खाएर कपडा ‘प्याकिङ’ गर्दै थिए एक्कासि उनलाई रिङ्गटा लागेको महसुस भयो । उनले भने, “दुई तलामाथि थिएँ म, सबै हल्लिन थाल्यो भूकम्प भन्ने थाहा हुने वित्तिकै हतारहतार बाहिर सिढीँबाट ओर्लिदै थिएँ । एक तला ओर्लिन नपाउँदै गेस्टहाउस ढल्यो ।’
उनको दुवै खुट्टालाई दुइवटा फलामको डण्डीले च्यापेको थियो । उनको शरीरको माथिको भागलाई एउटा सानो बारले छेकेको थियो । उनले सुरुमा त आफू बाँच्छु भन्ने आसा नै मरेको बताए ।
‘तर केहि समयपछि बाहिर सबैजना कराउन थाले । भित्र कोही छरु भन्ने आवाज आयो । अनि मैले म छु भनेर चिच्याएँ । मेरो वरिपरिका सबैजना बचाउ भन्दै थिए ।’
उनीसँगै त्यस घरमा अरु पनि पुरिएका थिए । उनले सुनाए– ‘एकछिन अघिसम्म पुरिएका अरु बचाउ भन्दै रहेका भएपनि केही समयपछि उनीहरु बोल्नै छाडे । म बिस्तारै बोल्न नसक्ने अवस्थामा पुगेँ ।’
उनलाई २४ घण्टापछि नेपाल प्रहरीले उद्दार गरेका थिए । रमेशलाई घाइते भएको भन्दा पनि आफु बाँच्न पाएकोमा खुशी लागेको बताए ।
एक सहयोगीको भरमा रमेश ‘ह्वील चियर’ गुडाउँदै भूकम्पमा परेर घाइते भएका अस्पतालका अन्य बिरामीलाई पनि सान्त्वना दिने गरेका छन् ।
कक्षा ८ मा अध्ययरत सन्देशले छात्रवासमा रहेका बेला भूकम्पमा परेर आफ्ना खुट्टा गुमाएका हुन् ।
विसं २०६२ मा तत्कालीन माओवादी र प्रहरीबीचको भीडन्तमा परी उनको बुवाको मृत्यु भएको थियो । बुवाको मृत्युपछि सन्देश साँगामा रहेको होस्टेलमा बसेर अध्ययन गर्दै आएका थिए ।
भूकम्पका बेला भाग्ने क्रममा रेलिङ्ले उनको खुट्टा किचेको थियो । दुखाइ सहन नसकेर चिच्याइरहँदा निकै बेरसम्म कसैले उद्दार गर्न नआएको उनले बताए । केही समयपछि होस्टेलका एक गार्डले उठाउन आएका थिए ।
उनकी आमा पशुपतिले भूकम्प गएपछि होस्टेलमा फोन गरेर सोध्दा सबै विद्यार्थी सकुशल छन् भनेर झुटो बोलेको बताइन् । ‘आफ्नो छोरा ठिक छ भनेर ढुक्क भएर बसेकी थिएँ । तर भोलिपल्ट मात्र थाहा भयो यस्तो भएको रहेछ ।’ सन्देशको खुट्टाको शल्यक्रिया आइतबार मात्र भएको थियो । शनिबारकै दिन खुट्टाको शल्यक्रिया हुन पाएको भए आफ्नो छोराले खुट्टा गुमाउन पर्ने थिएन भन्दै होस्टेलकै लापरवाहीले छोराको खुट्टा गुमेको आरोप समेत लगाइन् । रासस