कञ्चनपुर, १९ जेठ । शुक्लाफाँटा वन्यजन्तु आरक्षका सिमसार क्षेत्रबाट साइबेरियन चरा फर्कने क्रम सुरु भएको छ ।
उत्तरी धुव्रमा चिसो बढ्न थालेपछि साइबेरियालगायतका क्षेत्रबाट चिसो छल्नका लागि यहाँका सिमसार क्षेत्रमा पुगेका विभिन्न प्रजातिका चरा यहाँ गर्मी सुरु हुन थालेपछि साइबेरियातर्फ फर्कन थालेका छन् ।
आरक्षका रानीताल, सलगौडीताल, कालिकिच ताल र तारा ताल क्षेत्रमा प्रतिवर्ष कात्तिक महिनादेखिनै साइबेरियन चरा आउने क्रम सुरु हुन्छ ।
सिमसार क्षेत्रमा बच्चाकोर्लेर चरा चैतदेखि जेठ महिनासम्म पुनः साइबेरियालगायतका क्षेत्रमा फर्कने गरेको आरक्षका मुख्य सरक्षण अधिकृत युवराज रेग्मीले बताउनुभयो ।
साइबेरियन चराको सिमसार क्षेत्रमा देखिने हुललाई हेर्नकै लागि पर्यटक पुग्ने गरेको उहाँले बताउनुभयो ।
“एकवटै तालमा ३० देखि १५० प्रजातिका चरा एकसाथ हेर्न सकिने भएकाले पर्यटकले मङ्सिरदेखि जेठ महिनासम्मको समयमा शुक्लाफाँटा पुग्ने गरेका छन्” उहाँले भन्नुभयो ।
शुक्लाफाँटा आरक्षसँगै चौधर नदी, महाकाली नदी, सनवोरा, स्याली नदी, बन्दाताल र प्याराताल क्षेत्रमा समेत साइबेरियन चराको हुललाई हेर्न सकिन्छ । नदी र तालमा स्थानीय बासिन्दाले माछा मार्नका लागि विषादी हाल्न थालेपछि आहाराको कमीका कारण केही वर्षदेखि साइबेरियन चरा आउने क्रममा समेत कमी देखिएको छ ।













प्रतिक्रिया