जनकपुरधाम, ५ जेठ । प्रकृतिसँग खेलबाड गर्दा जलवायुमा पर्ने असरका कारण नेपालमा हिमनदी विष्फोट हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
जिल्ला वन कार्यालय धनुषाले मङ्गलबार आयोजना गरेको जलवायु परिवर्तन तथा रेड परिचयात्मकसम्बन्धी दुईदिने गोष्ठीमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार विसं २०३० पछि जलवायु परिवर्तनका कारण आठवटा हिमपात विष्फोट भएको जनाइएको छ ।
जलवायुमा परेको असरका कारण नेपालका १५ वटा हिमतालको अस्तित्व सङ्कटमा रहेको जनाइएको छ । जलवायु परिवर्तनका कारण व्यापकमात्रामा हिमाल पग्लिरहेकाले केही हिमतालहरुको अस्तित्वसमेत सङ्कटमा परेको हो ।
कञ्चनजङ्घा क्षेत्रमा २०१६ देखि २०५० सालसम्मको अवधिमा प्रतिवर्ष हिमनदी सरदर ०.७६ मिटर सुक्दै गएको छ भने हाल गरिएको सर्वेक्षणले यो दर बढेर प्रतिवर्ष एक मिटर भएको बताइएको छ ।
नेपालमा बढ्दै गएको वन विनाशका कारण जलवायुमा प्रत्यक्ष असर परेको छ भने तराई क्षेत्रका खेतीयोग्य जमिन मरुभूमिमा परिवर्तन हुन थालेको कार्यक्रममा जानकारी दिइयो । बाढीबाट बर्सेनि ठूलोमात्रामा बालीनाली तथा धनजनको क्षति हुने गरेको छ ।
सन् २००७ मा आइपिसिसीले गरेको सर्वेक्षणअनुसार जलवायु परिवर्तनको मुख्य कारण वायुमण्डलमा बढिरहेको हरितगृह ग्यास रहेको उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय सचिवालयका अनुसार सन् १९९४ मा नेपालमा वन विनाशका कारण वार्षिक २२ हजार ८९५ गिगाग्राम कार्बन उत्सर्जन भएको बुझिएको छ भने नेपालमा सबैभन्दा धेरै वन विनाश र डँडेलोबाट कार्बन उत्सर्जन हुने गरेको पाइएको छ ।
वन विनाश एवम् वन क्षयीकरण र यसबाट हुने कार्बन उत्सर्जनलाई रेडप्लसको माध्यमबाट न्यूनीकरण गरी नेपालले वन कार्बन व्यापार गरी लाभान्वित हुनसक्छ । गोष्ठीमा बोल्दै वन विभागका उपसचिव रामअशेश्वर मण्डलले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न रेड क्षेत्र ( वन) महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
जलवायु परिवर्तन नियन्त्रण गर्न मानवीय क्रियाकलापको महत्वपूर्ण भूमिका रहेको बताउँदै मण्डलले अहिले आएर जलवायु परिवर्तन सबैका लागि संवेदनशील विषय भएको जनाउनुभयो । नेपालका अधिकांश नदी हिमालबाट प्रवाह हुने गरेको भन्दै जलवायुमा परेको असरका कारण यसले नेपालको विद्युत् उत्पादनमा समेत प्रभाव पारेको उल्लेख गर्नुभयो ।
जलवायु परिवर्तन र यसको असर तथा न्यूनीकरणबारे सरोकारवालालाई जानकारी गराउने उद्देश्यले आयोजित गोष्ठी नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष अनिल मिश्रले उद्घाटन गर्नुभएको थियो । रासस















प्रतिक्रिया