२९ आश्विन २०८३, बिहिबार

एमाले महाधिवेशनमा इभोटिङ गरिने, १९ सय प्रतितिधि, महाधिवेशनको काउन्ट डाउन सुरु (विज्ञप्तिसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Mahadibesan

काठमाडौं, १९ जेठ । नेकपा एमालेले नवौं महाधिवेशनको तयारी तीव्र गतिमा भइरहेको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनालले महाधिवेशनको तयारी तीव्र गतिमा भइरहेकाले असारमै महाधिवेशन हुने बताउनुभयो । उहाँका अनुसार, महाधिवेशनमा एक हजार नौ सय प्रतिनधिले भाग लिनेछन् । केन्द्रीय समिति, सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्च लगायतबाट करिब ३ सय जना स्वतः प्रतिनिधि हुने उहाँले बताउनुभयो । अध्यक्ष खनालले केन्द्रीय कार्यालयमा महाधिवेशन मुल व्यवस्थापन समितिको कार्यालयको उद्घाटन गर्नुभयो । एमाले मुख्यालयबाट सोमबारबाटै शुरु हुने गरी महाधिवेशनको काउन्ट डाउन डिस्प्ले (उल्टो गन्ती) वोर्ड समेत जडान गरिएको छ ।

पत्रकार सम्मेलनमा महासचिव इश्वर पोखरेलले २ लाख ५० हजार संगठित सदस्यको नवीकरण भइसकेको जानकारी दिनुभयो । उहाँले यसपटक महाधिवेशनमा इलेक्ट्रोनिक्स भोटिङ्गको तयारी गरिएको पनि जानकारी दिनुभयो ।

यस्तो छ महाधिवेशनको तयारी:

नवौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति

प्रेस वक्तव्य

प्रिय सञ्चारकर्मी मित्रहरु,

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशन यही असार १९–२५ सम्म काठमाडौंमा आयोजना हुन गइरहेको बिषय यहाँहरूलाई जानकारी नै छ ।

महाधिवेशनको ठीक १ महिना अघि आज हामीहरूले महाधिवेशन मूल व्यस्थापन समितिको कार्यालय विधिवत् उद्घाटन गरेका छौं । महाधिवेशन तयारीको सन्दर्भमा भइरहेका कामको संक्षिप्त जानकारी दिने उद्देश्यले सञ्चारकर्मीहरू सँगको यो भेटघाट कार्यक्रम आयोजना गरेका हौं ।

१) दस्तावेजको तयारीः पार्टी केन्द्रीय कमिटीले कमरेड अध्यक्षको संयोजकत्वमा दस्तावेज मस्यौदा समिति गठन गरेको थियो । समितिले महाधिवेशनको सन्दर्भमा मूलतः राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, विधान संशोधनको प्रस्ताव, विशेष प्रस्ताव सहितका दस्तावेज तयार गर्ने निर्णय गरेको थियो ।

समितिले ११ वटा बैठकमा घनिभूत छलफलपछि राजनीतिक प्रतिवेदनको विषयवस्तु टुंगो लगाई त्यसको अन्तिम मस्यौदाको जिम्मा स्वयं अध्यक्ष र महासचिव कमरेडलाई दियो । यसरी मस्यौदा गरिएको प्रतिवेदनमा मस्यौदा समितिका सदस्यहरुको आलोचना–सुझाव र टिप्पणी पछि अन्तिम रुप दिइएको मस्यौदा प्रतिवेदन चालु केन्द्रीय कमिटीको हिजोको बैठकले पारित गरेको छ । बैठकले महाधिवेशनको नारा– “शान्तिपूर्ण जनक्रान्तिको उपलव्धीलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं !” तय गरेको छ ।

साङ्गठानिक प्रतिवेदन र विधानको संशोधन प्रस्तावमाथि आजबाट छलफल सुरु हुंदैछ ।

२) सदस्यता नवीकरणः केन्द्रीय कमिटीको यो बैठक शुरु हुञ्जेलसम्म २ लाख ५० हजार सदस्य नवीकरण भैसकेको छ । सबै जिल्ला र प्रवास समेत गरी केही प्राविधिक काम बाँकी रहेका ५ जिल्ला बाहेक सम्पूर्ण सदस्यहरुको दर्ता कार्य सम्पन्न भई सकेको छ । यसै हप्ताभित्र नवीकृत सदस्यताको आधारमा प्रतिनिधि चयनको अनुपात तय गरिने छ । महाधिवेशनमा केन्द्रीय नेताहरु सहित करिब १ हजार ९ सय प्रतिनिधिहरु रहनु हुनेछ ।

३) व्यवस्थापकीय कामः महाधिवेशनको व्यवस्थापकीय कामको लागि महासचिव कमरेडको संयोजकत्वमा ६५ सदस्यीय मूल व्यवस्थापन समिति, २१ सदस्यीय सचिवालय र त्यसको मातहतमा १२ उपसमितिहरु बनाईएको छ । उपसमितिहरुको हालसम्मको कार्यसम्पादन निम्नानुसार रहेको छः

– प्रचार–प्रचार विभाग प्रमुख क प्रदीप ज्ञवालीको संयोजकत्वमा गठित यो उपसमितिले यो महाधिवेशनमा पर्चा पोष्टर प्रयोग नगर्ने, वाल पेण्टीङ्ग नगर्ने तर त्यसको स्थानमा आधुनिक संचार माध्यमको प्रयोग गर्ने नीति लिएको छ । सामाजिक मिडिया मार्फत जनसाधारण र लक्षित पक्षसँग अन्तरक्रिया क्रिया गर्ने नीति लिइएको छ ।

आजबाट महाधिवेशनसम्मै आम सञ्चार माध्यम मार्फत साप्ताहिक अपडेट गर्ने, महाधिवेशनस्थलमा आधुनिक सञ्चार कक्ष तयार गरी सूचना प्रविधि आधारित महाधिवेशन आयोजना गर्ने, प्रचार–प्रसारका लागि आचारसंहिता लागू गर्ने र महाधिवेशनको मुख्य कार्यक्रमको लाइभ वेवकाष्ट गर्ने योजना गरिएको छ ।

– आवास तथा यातायातव्यवस्था– सम्पर्क समन्वय कमिटीका प्रमुख क. गंगालाल तुलाधरको संयोजकत्वमा गठित आवास व्यवस्थापन उपसमितिले महाधिवेशनका सम्पूर्ण प्रतिनिधिलाई जनताकै वीचमा राख्ने गरी आवासको व्यवस्थापन गरिरहेको छ ।

– खाद्य व्यवस्था– उद्योग तथा श्रम सम्बन्ध विभागका प्रमुख क. मुकुन्द न्यौपानेको संयोजकत्वमा गठित यो उपसमितिले सम्पूर्ण प्रतिनिधिहरूका लागि स्वस्थकर, सफा तथा स्वादिष्ट खानाको व्यवस्थाको तयारी गरेको छ ।

– स्वास्थ्य– स्वास्थ्य विभाग प्रमुख क. योगेश भट्टराईको संयोजकत्वमा गठित यो उपसमितिले गत जेठ ३ गते मदन–आश्रित दिवसको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम आयोजना गरी आप्mनो काम थालेको छ । महाधिवेशन अवधिभर विभिन्न स्वास्थ्य परिक्षण गर्ने गरी निरन्तर स्वास्थ्य शिबिर सञ्चालन गर्ने, सबै प्रतिनिधिहरुलाई दैनिक प्रयोगका सेनिटेशन कीट उपलव्ध गराउने र स्वास्थ्य सम्बन्धि चेतना अभिवृद्धि गर्न जानकारी पुस्तिका वितरण गर्ने योजना बनाएको छ ।

– सुरक्षा तथा स्वयंसेवक व्यवस्थापन– पार्टी सचिव क. विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित यो समितिले महाधिवेशनको सुरक्षा तथा स्वयंसेवक परिचालनको जिम्मेवारी लिएको छ । महाधिवेशन स्थलमा आन्तरिक र वाह्य दुई प्रकारको सुरक्षा व्यवस्थापन गर्ने नीति यो समितिले लिएको छ । महाधिवेशनको वाह्य घेराको सुरक्षामा राज्यको सुरक्षा संयन्त्रलाई संलग्न गर्ने र आन्तरिक स्वयंसेवक मार्फत व्यवस्थापन गर्ने यसको योजना रहेको छ । महाधिवेशन स्थललाई सिसिटिभी सर्भिलेन्समा राख्ने योजना यो समितिको छ ।

– अतिथि सत्कार– पार्टीको प्रवास इन्चार्ज क. भीम रावलको संयोजकत्वमा गठित यो समितिले अतिथिको व्यवस्थापन कार्य थालिसकेको छ । विदेशी वन्धु पार्टीहरु तथा व्यक्तित्वहरुलाई आमन्त्रण पठाउन सुरु गरिएको र स्वदेशी पार्टी तथा अतिथिहरुको आमन्त्रणको तयारी समेत गरिरहेको छ ।

– महाधिवेशनस्थल व्यवस्थापन– पार्टीको प्राकृतिकश्रोत व्यवस्थापन विभाग प्रमुख क. प्रदीप नेपालको संयोजकत्वमा महाधिवेशन स्थल व्यवस्थापनको काम शुरु भएको छ । महाधिवेशन स्थल– भृकुटी मण्डप स्थित प्रदर्शनी परिसरलाई तय गरिएको छ । वर्षायामलाई ख्याल राखी उद्घाटन समारोह प्रदर्शनी कक्ष भित्रै गर्ने, त्यसलाई प्रत्यक्ष प्रसारण गर्ने र सामाजिक सञ्जाल तथा विद्युतिय सञ्चार माध्यमको प्रयोगबाट व्यापक प्रचार–प्रसार गर्ने योजना यसको छ ।

– अभिलेखन व्यवस्था– पार्टीको पुस्तकालय तथा अभिलेखन समिति प्रमुख क. विन्दा पाण्डेको संयोजकत्वमा महाधिवेशन अभिलेखन समिति गठन गरिएको छ । यो समितिले आइ.टी. व्यवस्थापन सम्बन्धी सम्पूर्ण कामको संयोजन गर्दैछ । योसमितिले महाधिवेशनका इभेण्टहरुको अभिलेखन तथा रेकर्डिङ्ग सहित सिङ्गो महाधिवेशन क्षेत्रलाई वाइफाई जोनमा रुपान्तरण गर्ने योजना समेत गरिरहेको छ । यो महाधिवेशनमा वारकोड युक्त प्रतिनिधि कार्डको व्यवस्था गरी त्यसै मार्फत् खाना, आवास, प्रवेश जस्ता कामलाई रिकर्डिङ्ग गर्ने योजना रहेको छ ।

– प्रतिनिधि व्यवस्थापन– पार्टी सचिव क. युवराज ज्ञवालीको संयोजकत्वमा गठित यो समितिले प्रतिनिधि प्रमाणिकरण र व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लिएको छ ।

– सांस्कृतिक– विभागीय प्रमुख क. वाचस्पति देवकोटाको संयोजकत्वमा गठित यो समितिले महाधिवेशन अघि र महाधिवेशनको क्रममा स्वस्थ मनोरञ्जनयुक्त कार्यक्रम तयार गरी प्रगतिशिल एवं जनवादी कला–साहित्य – र संस्कृतिको प्रचार तथा प्रवद्र्धन गर्ने नीति लिएको छ । यसको लागि महाधिवेशनतयारीको क्रममा जनवादी सांस्कृतिक कार्यक्रम गर्ने र महाधिवेशनको सातै दिन व्यालेसहितकाविविध सांस्कृतिक कार्यक्रम गर्ने योजना तयार गरिएको छ ।

– आर्थिक व्यवस्था– अर्थ तथा योजना विभाग प्रमुख क. सुरेन्द्र पाण्डेको संयोजकत्वमा गठित यो विभागले महाधिवेशनको अनुमानित खर्च रु. ५ करोड आंकलन गरेको छ । यसको लागि पार्टीका सभासद, मन्त्री, पार्टीका सदस्य तथा शुभेच्छुकबाट रकम सङ्कलनको काम थालिएको छ ।

– जनपरिचालन– काठमाडौ उपत्यका कमिटीका इञ्चार्ज क. कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित जनपरिचालन समितिले आफ्नो जिम्मामा रहेको जनपरिचालनको कामलाई अगाडि बढाइरहेको छ ।

– महाधिवेशन मूल व्यवस्थापन समितिको कार्यालय– सचिवालयीय कार्य गर्ने गरी राज्यव्यवस्था विभाग प्रमुख क. अष्ठलक्ष्मी शाक्यको संयोजकत्वमा गठित यो समितिले मूल व्यवस्थापन समितिको कार्यालयको काम गरिरहेको छ । मूल व्यवस्थापनको कार्यालयमा महासचिव क. ईश्वर पोख्रेल सहित पार्टी सचिवालय सचिव क. शंकर पोखरेल, केन्द्रीय कार्यालय सचिव क. पृथ्वीसुव्वा गुरुङ र सचिवालय सदस्य एवं मूल व्यवस्थापन समितिका सचिव क. विष्णु रिमाल रहनु हुनेछ ।

४)  निर्वाचन– यो महाधिवेशनमा इलेक्ट्रोनिक्स भोटिङ्गको तयारी गरिएको छ । र आजका मितिबाट शुरु हुने गरी महाधिवेशनको काउन्ट डाउन डिस्प्ले (उल्टो गन्ती) वोर्ड पार्टी कार्यालयमा जडान गरिएको छ ।

ईश्वर पोख्रेल
संयोजक