– दीपक ओली
अत्तरिया (कैलाली), ६ जेठ । डडेल्धुराको मेलखर्कमा सोमबार साँझ भएको बस दुर्घटनाका घाइतेहरूले चालकको लापरबाहीका कारण दुर्घटना भएको बताएका छन् ।
छोटा घुम्ती भएको पहाडी मार्गमा घाइतेले चालकले तीब्र गतिमा बस हाँक्नुका साथै घुम्तीहरूमा हर्न बजाउन लापरबाही गरेकोले दुर्घटना भएको बताए ।
महेन्द्रनगरबाट दार्चुला गइरहेको महाकाली यातायातको ना५ख १६८५ नम्बरको यात्रुबाहक बस सोमबार साँझ डडेल्धुराको मेलखर्कमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको थियो । दुुर्घटनामा ३५ जना घाइते भएका छन् ।
अत्तरियाबाट बस चढेकी दार्चुला सुनसेरा गाविस–२ कि बृन्दा धामीका अनुसार चालकले शुरुदेखिनै तीब्र गतिमा बस चलाएको थियो । ‘बसमा चढेदेखिनै बसको गति देखेर डर लाग्यो । ड्राइभरले घुम्तीमा पनि बेस्सरी चलाउथ्यो । घुम्तीमा पनि हर्न बजाउदैन्थ्यो,’ बृन्दाले भनिन्, ‘ड्राइभरको लापरवाहीका कारण यत्रो दुर्घटना भयो ।’
‘छोरी सिर्जनाको ढाड दुख्ने समस्या भएको कारण बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार गराएर घर फर्कदै थिए । छोरी सिर्जना सँगै छोरा सागर पनि थियो,’ अत्तरिया पद्मा अस्पतालमा भर्ना गरिएकी घाइते बृन्दाले भनिन्, ‘गुरु (चालक) कै लापरवाहीका कारण आज यस्तो अवस्था भोग्नुपर्यो ।’
बृन्दा र उनका १२ वर्षीया छोरा सागरको पद्मामा उपचार भइरहेको छ भने छोरी सिर्जनाको स्वास्थ्य अवस्था गम्भीर रहेकोले थप उपचारका लागि भारतको बरेलीमा लिइएको छ । बृन्दा र सागरको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न पद्मा अस्पतालका डाक्टर नरबहादुर मौनीले बताए ।
‘हामी आमा छोरा त बोल्न र सामान्य हिँडडुल गर्न सक्छौं । सँगै पनि छौं । तर, छोरीको अवस्था के कस्तो होला ?,’ बृन्दाले भनिन्, ‘छोरी एक्लै छ । हेरचाह गरिदिने आफन्त पनि कोहि छैन् ।’
बृन्दाका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया छन् भने घरमा एक सानो छोरा मात्र छ । सख्त घाइते भई बरेलीमा लिएकी छोरी सिर्जनाको चिन्ताले आफूलाई सताएको बृन्दाले बताइन् ।
दार्चुला पीपलचौरी गाविस ४ का महेश्वरप्रसाद भट्ट मास्टर्स अध्ययन गर्न भनेर काठमाडौंमा थिए । बिनासकारी भूकम्पपछि उनी काठमाडौं छाडेर महेन्द्रनगर आए । सोमबार महेन्द्रनगरबाट दार्चुलास्थित घरमा जान बहिनी (फूपुकी छोरी) मञ्जु भट्ट र म बसमा चढेका थियौं । तर, दुर्घटनामा परेर बिचल्ली भयो महेश्वरप्रसादले भने ।
महेन्द्रनगरको सेतीमहाकाली नर्सिङ् क्याम्पसमा नर्सिङ् तेस्रो वर्षमा अध्ययनरत मञ्जुले क्याम्पसको छुट्टी भएकाले दाई महेश्वरप्रसाद सँगै घर जान लागेको तर चालकको लापरवाहीका कारण घर नभएर अस्पतालमा भर्ना हुनुपरेको बताइन् ।
मञ्जुले भनिन्–‘दाई सँगैको सीटमा सुतिरहेकी थिए । एक्कासी बस उडेजस्तै गरी भुइँमा बजारियो । सबै बचाउँ बचाउँ भनेर चिच्याउदै थिए । त्यसपछि के भयो थाहा छैन् । अस्पतालमा आएपछि होस् खुल्यो ।’
महेश्वर र मञ्जुको पनि चालकको चरम लापरवाहीका कारण बस दुर्घटना भएको ठम्याई छ । आफूहरुले चालकलाई विस्तारै हाक्नुस् भन्दा नमानेका कारण दुर्घटनाको शिकार हुनुपरेको घाइतेहरुको भनाई छ ।
तराईका कैलाली र कञ्चनपुर तथा पहाडका सात जिल्लालाई जोड्ने भीमदत्त मार्गको सडक साघुरो छ भने छोटाछोटा घुम्तीहरू छन् । पछिल्ला आठ महिनामा भएका तीन ठूला सडक दुर्घटनामा ५० जनाको ज्यान गइसकेको छ ।
सोमबार मेलखर्कमा भएको दुर्घटनामा सात जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो । ३५ जना घाइते भएका छन् । घाइते मध्ये ११ जनाको भारतको हल्दानीमा र नौ जनाको बरेलीमा उपचार भइरहेको छ । बाकीको अत्तरियाको पद्मा र सुदूरपश्चिम सामुदायिक अस्पतालमा उपचार भइरहेको सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी रामप्रसाद खनालले बताए ।
सुदूरपश्चिम ट्राफिक प्रहरी प्रमुख एसपी देवबहादुर बोगटीले घटनाको प्रकृति हेर्दा चालकको कमजोरी देखिएको बताए । ‘दुर्घटना भएको ठाउमा घुम्ती छ । अर्कोतिरबाट ट्रक पनि आउदै रहेछ, बसको ओभर स्पीड भएका कारण चालकले नियन्त्रण गर्न नसकी दुर्घटना भएको देखिन्छ’ उनले भने ।
बस चालक घाइते बस चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–६, का रामसिंह नायक थिए । उनी पनि घाइते भएको र घटनाको थप अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइने प्रहरी जनाएको छ ।
यसैगरि विपरित दिशाबाट आइरहेको बस से१ख ७५३ नम्बरको मिनी ट्रकसँग ठोकिएको भनिएको सो मिनी ट्रकका चालक कैलाली गोदावरी ८ का प्रमोद घर्तीमगरलाई नियन्त्रण लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
















प्रतिक्रिया