बाबियाचौर (म्याग्दी), १९ जेठ । म्याग्दी जिल्लाका आधाभन्दा बढी घरधुरीमा सुधारिएको चुल्हो निर्माण भएको छ । वन तथा वातावरण संरक्षण र मानव स्वास्थ्यमा सुधार ल्याउन जिल्लाका रहेका ५० प्रतिशतभन्दा बढी घरधुरीमा सुधारिएको चुल्हो प्रयोग गरिएको हो ।
म्याग्दीमा कुल २४ हजार ४३० घरधुरी रहेका छन् । जसमध्ये हालसम्म १२ हजार ३०७ घरधुरीले सुधारिएको चुल्हो प्रयोग गरेको जिविसअन्तर्गतको वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखाका अधिकृत सागर मरासिनीले जानकारी दिनुभयो ।
अधिकृत मरासिनीका अनुसार गाविसका सबै घरमा सुधारिएको चुल्हो निर्माण भएपछि झिँ, अर्मन र दग्नामलाई घरभित्रको धुवाँमुक्त गाविससमेत घोषणा गरिएको छ । घरभित्रको धुवाँमुक्त गाविस घोषणा गर्ने उद्देश्यले दरवाङ, लुलाङ, पिप्ले, रत्नेचौर र राम्चेमा सुधारिएको चुल्हो निर्माण गर्ने क्रम जारी छ ।
दाउराको खपत कम गरी वन तथा वातावरण संरक्षण समयको बचत र धुवाँजन्य रोग न्यूनीकरणका लागि सुधारिएको चुल्हो उपयोगी हुने अधिकृत मरासिनीले जानकारी दिनुभयो ।
म्याग्दी जिल्लाका सबै घरधुरीमा सुधारिएको चुल्हो निर्माण गरी सन् २०१५ सम्ममा घरभित्रको धुवाँमुक्त जिल्ला घोषणा गर्ने तयारीसमेत भएको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र तथा राष्ट्रिय ग्रामीण नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत थप घरहरुमा पनि सुधारिएको चुल्हो निर्माणको अभियान सञ्चालन गरिने अधिकृत मरासिनीले जानकारी दिनुभयो ।
म्याग्दीमा हाल ५० जनाभन्दा बढी चुल्हो प्रवद्र्धक कार्यरत छन् । सुधारिएको चुल्हो कार्यक्रमका जिल्ला संयोजक दीपक शर्माका अनुसार एउटा चुल्हो निर्माण गर्न एक हजार रुपैयाँसम्म खर्च लाग्दछ ।













प्रतिक्रिया