५ कार्तिक २०८३, बिहिबार

भूकम्पले आधा दर्जन सरकारी कार्यालयमा क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, ६ जेठ । विनाशकारी भूकम्पले सिरहाका आधा दर्जनभन्दा बढी सरकारी कार्यालयको संरचनामा क्षति पुगेपछि कामकाज गर्न समस्या भएको छ ।

भवनमा क्षति पुगेपछि कतिपय सरकारी कार्यालयका कर्मचारी बाहिरै बसेर काम गरिरहेका छन् भने कतिपय कार्यालयका कर्मचारी त्रसित अवस्थामा कार्यालयभित्रै बसेर काम गर्न बाध्य छन् ।

गत वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पबाट सिरहास्थित जिल्ला प्रशासन कार्यालय, प्रजिअ निवास, जिल्ला विकास समिति, कोष तथा लेखा नियन्त्रणको कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला प्राविधिक कार्यालय, राससको लहानस्थित कार्यालयको भवनमा क्षति पुगेको सिरहाका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले जानकारी दिनुभयो ।

सुरक्षाका दृष्टिकोणले भत्किएका र जीर्ण अवस्थामा रहेका कार्यालयका कर्मचारीलाई सुरक्षित स्थानमा बसेर कार्य सञ्चालन गर्न निर्देशन दिइएको प्रजिअ खाँले बताउनुभयो ।

जिल्ला दैवीप्रकोप उद्धार समितिले जिल्लामा भएको भौतिक क्षतिबारे यकिन गर्न जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको इन्जिनियर सम्मिलित टोली खटाइएको प्रजिअ खाँले जानकारी दिनुभयो ।

टोलीले क्षतिको यकिन गरी विवरण बुझाएपछि मर्मत तथा पुनःनिर्माणका लागि सिफारिस गर्ने उहाँले बताउनुभयो ।