
काठमाडौं, ९ फागुन । महिला उद्यमीको वित्तीय पहुँच विस्तारका लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन)बीच साझेदारी भएको छ ।
महिला उद्यमीहरूलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यअनुसार भएको साझेदारीमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका छन् ।
समझदारीअन्तर्गत नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनका लागि स्टल उपलब्ध गराउने छ । एफविन अन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रमसम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउने साझेदारीमा उल्लेख छ ।
समझदारीअनुसार पहिलो चरणमा एफविनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रीय कार्यालयमा स्टलहरू लगाउने छ । यो स्टलहरूमा नेपाली उद्यमीद्वारा उत्पादित उत्पादनहरू रहनेछन् । यस प्रकारको नेपाली उत्पादनहरूले नबिलका कर्मचारी र यसका ग्राहकहरूको नेपाली उत्पादनहरूप्रति सकारात्मक व्यवहार परिवर्तन गर्न मद्दत गर्ने अपेक्षा राखिएको छ ।
वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तीकरणलाई बढावा दिने विश्वास राखिएको छ । यस साझेदारी अन्तर्गत दिगो विकासका १, ५, ८ र १७ नम्बरका लक्ष्यहरू समेटिने छन् ।
सरकारले अवलम्बन गरेको दीगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसका दिन दीगो बैंकिङको सुरुवात गरेको थियो । सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दीगो बैंकिङ सेवा बैंकले हाल १०० शाखामा विस्तार गरिसकेको जनाएको छ ।















प्रतिक्रिया