१ कार्तिक २०८३, शनिबार

बाढीपहिरोले मुख्य राजमार्ग प्रभावित, बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्का कारण देशका विभिन्न मुख्य सडकखण्डहरू अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार गोरखा र अर्घाखाँचीका सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन् भने म्याग्दीको एक सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

प्रहरीका अनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३ मा पहिरो खस्दा गोरुसिंगे–सन्धिखर्क सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

आज राति २ बजेदेखि सडक अवरुद्ध हुँदा त्यस क्षेत्रमा सवारी आवागमन ठप्प बनेको छ ।

यस्तै, गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा नयाँपुलस्थित सोतीमा रहेको फलामे पुल र आरुघाटबाट धादिङ जोड्ने सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको छ । असोज २५ गते बिहानदेखि आएको बाढीले उक्त खण्डमा यातायात सेवा रोकिएको प्रहरीले जनाएको छ ।

उता म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

असोज १० गते बिहान पहिरोका कारण प्रभावित बनेको उक्त खण्डमा हाल सवारी साधनहरूलाई एकतर्फी रूपमा आवतजावत गराइएको छ । अवरुद्ध सडकहरू खुलाउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।