
काठमाडौं, ९ फागुन । खाना पकाउने ग्यास लिक भएर आगलागस् हुँदा जलेर घाइते भएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्यवस्था सुधारोन्मुख बन्दै गएको छ ।
फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई भोलिदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ ।
नेशनल बर्न सेन्टरका डा सुनिल केशवानीका अनुसार नेता भण्डारीलाई ‘इटी ट्युब’मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनि कम हुँदै गएको छ । त्यसकारण भण्डारीलाई आज राति पाँच लिटर अक्सिजनमा मात्र रिजरभायर ब्याग मास्कमा राखिने र भोलिसम्म मात्र रिजरभायर ब्याग मास्कमा राखिने तयारी छ ।
नेता भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनक रुपमा पलाएको तर हातहरूमा अलिअलिमात्र पलाएकाले एक हप्ता अझै हेर्ने, अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै भण्डारीको उपचार समन्वयमा सँगै रहेको कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए ।
यही फागुन ३ गते राति आफ्नो निवासमा ग्यास लिक भइ आगलागी हुँदा सांसद डा. भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए ।
घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । तर, आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भइसकेको छ ।















प्रतिक्रिया