१ कार्तिक २०८३, शनिबार

सेना दिवसमा नेपाली सेनाले के–के गर्‍यो ? हेर्नुहोस् तस्वीरहरूमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । नेपाली सेनाले विभिन्न कार्यक्रम गरेर सैनिक दिवस मनाएको छ ।

आज शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष उपस्थितिमा सैनिकमञ्च टुडीखेलमा विशेष समारोह आयोजना गरी सेनाले आफ्नो स्थापना दिवस मनाएको हो ।

नेपाली सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा विशेष कार्यक्रमहरूसहित महाशिवरात्री तथा सेना दिवस–२०७९ मनाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार कार्यक्रममा राष्ट्रपतिले सैनिक मञ्चस्थित वीर स्मारकमा माल्यार्पण गरी शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नाका साथै नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही–२०७९ तथा नेपाली सेनाको इतिहास वि.सं. १८७२–२००७ नामक पुस्तकको विमोचन गरिन् ।

साथै उनले फ्रि–फल जम्पमा प्रथम र द्वितीय हुने सेनानी जगनाथ दनै र सेनानी टेकबहादुर कार्कीलाई पुरस्कृत गरिन् भने भारतीय सेना तथा बेलायती सेनाको व्याण्डलाई उपहार प्रदान गरिन् ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झण्डालगायत विभिन्न व्यानर प्रदर्शनसहित पुष्पवृष्टी गरिएको थियो । त्यस्तै राईफल र तोपबाट बढाइँ गरिएको थियो । नेपाली सेनाका विभिन्न अंगहरू तथा गतिविधिहरूको प्रतिनिधित्व हुने झलकहरूका साथै सैनिक हतियार, उपकरण र विविध सैनिक कला प्रदर्शन, मार्चपाष्ट, फ्रि–फल जम्प लगायत विभिन्न संस्कृति झल्कने नाच एवं झाँकी प्रस्तुत गरिएको थियो ।

दिवसमा अवसरमा मौलिक वाद्यवाधनका साधनहरूको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्य अनुरूप ५५५ जना सकलदर्जाद्वारा मादलको ताल र लय प्रस्तुत गरिएको थियो । यसअघि बिहीबार प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा भएको मादलको सोही प्रस्तुती वर्ल्ड बुक अफ रेकर्ड, लन्डनद्वारा विश्व किर्तीमानका रूपमा प्रमाणित भइसकेको निर्देशनालयले जनाएको छ ।

आज सैनिक मञ्चमा आयोजित बेग्लै समारोहमा वर्ल्ड बुक अफ रेकर्डका नेपालस्थित प्रतिनिधि सागर कटवालले प्रधान सेनापति शर्मालाई सो किर्तीमानको प्रमाणपत्र हस्तान्तरण गरे ।

समारोहको दोस्रो चरणमा प्रधान सेनापति शर्माले नेपाली सेनालाई विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने एवं आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान गर्ने स्वदेशी तथा विदेशी महानुभावहरूलाई र संघसंस्थालाई प्रधान सेनापति प्रशंसा निशान तथा प्रधान सेनापति प्रशंसा पत्र प्रदान गरे ।

यस्तै, देशका विभिन्न स्थानहरूमा तैनाथ एवं विदेशस्थित नेपाली सेनाका सबै इकाइहरूले नेपाली सेना स्थापनाको २६०औं वार्षिकोत्सवका अवसरमा सेना दिवस–२०७९ विविध कार्यक्रमहरूसहित मनाइरहेको बताइएको छ ।

हेरौँ तस्वीरहरू–