
काठमाडौं, ६ फागुन । आईसीसी लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई दोस्रोपटक पराजित गर्दै जित हासिल गरेको छ ।
२७५ रनको विशाल लक्ष्य पछ्याएर ब्याटिङ सुरु गरेको नेपालले ७ वीकेटको क्षतिमा ४७.३ ओभरमा लक्ष्य पूरा गर्यो । योसँगै कीर्तिपुर मैदानमा भएको लिग टु अन्तर्गतको आफ्नो तीनवटै खेल नेपालले जितेको छ । आईसीसी विश्वकप लिग २ मा नेपालले पहिलो पटक एकै सिरिजमा तीन खेल जितेको हो ।
नेपालको जितमा आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय इनिङको योगदान दिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यससँगै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । यस जितसँगै नेपालले २७ खेलमा २४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । नामिबिया ३३ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यो नतिजासँगै स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।
नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।















प्रतिक्रिया