– दीपक ओली
धनगढी, ४ वैशाख । कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुलातर्फ गइरहेको ना ५ ख १६८५ नम्बरको यात्रुबाहक बस सोमबार साझ साढे पाँच बजेतिर डडेल्धुराको मेलखर्कमा दुर्घटना भएको छ ।
बस दुर्घटनामा परी एक बालक, चार महिला र तीन जना पुरुष गरी आठ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको डडेल्धुराका प्रहरी प्रमुख डीएसपी योगेन्द्र थापाले बताए ।
भीमदत्त राजमार्गको गाङ्खेत गाविस अन्तरगत पर्ने सो सडकखण्डबाट बस एकसय मिटर तल खसेको थापाको भनाई छ । दुर्घटनाको खबर थाहा पाउने बित्तिकै घाइतेहरुको डडेल्धुराबाट नेपाल प्रहरी सशस्त्र प्रहरी, डोटीको बुँडरस्थित प्ररही चौकीको टोली र स्थानीयले उद्धार गरेका थिए ।
सो दुर्घटनामा मृत्यु हुनेहरुमा डडेल्धुराको जोगबुडा भुजानीकी राजमती धामी, डडेल्धुराकै गाङखेत गाविस ८, बुढाचालका डम्बर कामी तथा दार्चुलाको अपी नगरपालिका ६ की परुलीदेवी धामी र ठेगाना खुल्न नसकेका महादेव भट्ट रहेका छन् । अन्य मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
बिपरित दिशाबाट आइरहेको ट्रकसँग बस ठोक्किदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ । यद्यपी घटनाको थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए । घाइतेहरुको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ ।
















प्रतिक्रिया