३१ आश्विन २०८३, शनिबार

मकवानपुर गोल्डकप आजदेखि, विजेतालाई १५ लाख पुरस्कार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २८ माघ  । बागमती प्रदेशको राजधानी हेटौंडामा आजदेखि पाँचौ संस्करणको ‘स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता सुरु हुँदै छ ।

हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जिल्ला फुटबल संघ मकवानपुरको मकवानपुर-११ र नव जनजागृती युवा क्लब सिमराबीच प्रतिस्पर्धा हुने छ ।

संघका जिल्ला अध्यक्ष अध्यक्ष टिका लामाका अनुसार प्रतियोगितामा ७ वटा ए डिभिजन र एक अन्तराष्ट्रिय क्लबसहित १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा आयोजक मकवानपुर-११, नव जनजागृती युवा क्लब सिमरा, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ क्लब, सातदोबाटो क्लब ललितपुर, मनाङ् मस्र्याङ्दी क्लब काठमाडौं, फ्रेण्ड्स क्लब ललिततपुर, हिमालयन शेर्पा क्लब काठमाडौं, एनआरटी क्लब काठमाडौं, बागमती युवा क्लव सर्लाही, विरगंज युनाइटेड पर्सा, र एभिनियर एफसी क्यामरुनको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् ।

प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुने र समापन कार्यक्रममा नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आउने तय भएको आयोजकले जनाएको छ ।

जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा फुटबल संघले सहिद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ ।

२०६२–०६३ को जनआन्दोलनका सहिदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो ।  पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो ।

२०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।