
काठमाडौं, २२ माघ । प्रेस चौतारी नेपाल स्थापनाको २५ औँ वर्षमा प्रवेश गरेको छ ।
विसं २०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो । सोही दिनको स्मरणमा प्रेस चौतारीले आज २५ औँ स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गर्दै मनाउँदै छ ।
चौतारीले आज स्थापना दिनको स्मरणमा काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रममा ६ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । चौतारीले हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट चौतारीका पूर्वअध्यक्ष समेत रहेका रुपन्देहीका डा. बालकृष्ण चापागाईँलाई पुरस्कृत गर्ने भएको छ ।
यसैगरी, चौतारीले अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कारबाट लमजुङका पत्रकार कृष्ण केसी, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट दैलेखका याम शर्मा, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट बाराका लक्ष्मी साहलाई पुरस्कृत गर्ने भएको छ । सावित्रीदेवी-पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट सुनसरीका लीलाराज भट्टराई र चन्द्र न्यौपाने-शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट डडेलधुराकी ममता भट्टलाई पुरस्कृत गर्ने चौतारीले जनाएको छ ।
प्रेस चौतारीले आफ्नो स्थापना दिवस माघ २२ गते हृदयचन्द्र सिंह प्रधानसहित ६ वटा पुरस्कार प्रदान गर्दै आएको छ । चौतारीको गत माघ ९ र १० गते बसेको सचिवालय बैठकले वरिष्ठ पत्रकार रघु मैनाली संयोजक रहने गरी उपाध्यक्ष देविका घर्ती मगर र महासचिव हिरामान लामा सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिले पूर्वअध्यक्ष चापागाईँसहित ६ जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गर्दै केन्द्रीय कार्यालयलाई नाम बुझाएको थियो ।












प्रतिक्रिया