
काठमाडौं, २१ माघ । न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यू डायमण्डले सुखद सुरुवात गरेको हो ।
न्यू डायमण्डले आर्मीलाई २५–२०, २५–१४ र २५–१० ले हराएको हो । जितसँगै न्यू डायमण्डले पहिलो खेलमा ३ अंक जोडेको छ । आर्मीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । त्यस्तै शनिबार नै भएको अर्को खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले सुखद सुरुवात गरेको छ ।
एपीएफले पुलिसमाथि २५–२०, २५–२१ र २५–२१ को जित निकालेको हो । जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत आइतबार हुने पहिलो खेलमा एपीएफ र आर्मी भिड्ने छन् । यस्तै दोस्रो खेलमा पुलिस र न्यू डायमण्डबीच खेल हुनेछ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधिका लागि खेल्नेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।















प्रतिक्रिया