३१ आश्विन २०८३, शनिबार

काभ्रेमा जिल्लास्तरीय बृहत् खेलकुद महोत्सव हुँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, २० माघ । जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोक र जिल्ला समन्वय समिति काभ्रेलाञ्चोकको संयुक्त आयोजनामा आजदेखि जिल्लास्तरीय ‘बृहत् खेलकुद महोत्सव’ हुँदैछ । खेलाडी उत्पादन गर्ने र खेलक्षेत्रको बृहत्तर विकासका लागि स्थानीय तह, प्रदेश र संघ सरकारको गम्भीर ध्यानाकर्षण गराउने उद्देश्यले पनौतीस्थित क्षेत्रीय रङ्गशालामा चार दिनसम्म सञ्चालन हुनेछ ।

काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका–७ स्थित क्षेत्रीय रङ्गशालामा सञ्चालन हुने खेलकुद महोत्सवमा विभिन्न १२ वटा विधामा एक हजार चार सय ९४ खेलाडीले प्रत्यक्ष सहभागिता जनाउँदैछन् । जिल्लाका १३ वटै पालिकाबाट खेलाडीको सहभागिता हुने महोत्सवमा फुल कन्ट्याक कराते, सितेरियो कराते, डब्लुटिएफ तेक्वान्दो, आइटिएफ तेक्वान्दो, भलिबल, कबड्डी, एथलेटिक्स, फुटबल, ब्याडमिन्टन, बुद्धिचाल र योगा गरी १२ खेलमा खेलाडीले फरक–फरक समूहमा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति काभ्रेपाञ्चोकका अध्यक्ष मानवीर वाइबाले बताए । त्यसका लागि पनौतीमा जिल्लाभरिका विभिन्न विधाका खेलाडी उपस्थित भइसकेका छन् ।

महोत्सवमा सबैभन्दा बढी पनौती नगरपालिकाबाट चार सय ३८ खेलाडी सहभागी हुनेछन् । सबैभन्दा कम चौँरीदेउराली गाउँपालिकाबाट १२ खेलाडी सहभागी हुने भएका छन् । त्यस्तै बनेपा नगरपालिकाबाट तीन सय ८१, धुलिखेल नपाबाट एक सय २७, पाँचखाल नपाबाट एक सय ४४, नमोबुद्ध नपाबाट ८२, मण्डनदेउपुर नपाबाट ३५, रोशी गाउँपालिकाबाट ५६, तेमालबाट २९, भुम्लुबाट २७, बेथानचोकबाट एक सय दुई, महाभारतबाट १८ र खानीखोला गाउँपालिकाबाट ४३ खेलाडी सहभागी हुने अध्यक्ष वाइबाले बताए । त्यसबाहेक कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मीबीचको मैत्रीपूर्ण खेल खेलाइने जिल्ला समन्य समिति काभ्रेपलाञ्चोकका प्रमुख प्रमुख दीपककुमार गौतमले बताए ।

प्रतियोगितामा पहिलो हुने समूहले रु ३० हजार, दोस्रोले रु २० हजार र तेस्रो हुनेले रु १० हजार नगद पुरस्कार पाउनेछन् । त्यसैगरी मेडल, प्रमाणपत्र, ट्रफी र उत्कृष्ट खेलाडी ट्रफी पाउनेछन् । महोत्सवमा १३ वटा खेलको स्वर्ण एक सय ३२, रजत एक सय ३२ र कास्य एक सय ९४ पदका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।