गाईघाट (उदयपुर), १९ जेठ । जिल्लाको कटारी नगरपालिका– ३ खसीबासको एक स्थानीयको घरबाट इलाका प्रहरी कार्यालय कटारीले एक थान अवैध भरुवा बन्दुक र तथा खुट्टाहरू बरामद गरेको छ ।
जेठ १७ गते राति ११ बजे इलाका प्रहरी कार्यालयबाट गस्तीमा गएको टोलीले खसीबासस्थित देवबहादुर कटुवालको घरमा छापा मार्दा एक थान अवैध भरुवा बन्दुक, दुई वटा ठूलो भालुको खुट्टा, छाला र सानो भालुको चार वटा खुट्टा, भालुका खुट्टाका ५८ वटा नङ्ग्रासमेत बरामद गरेको हो ।
यस्तै बन्दुकमा प्रयोग गरिने झन्डै एक किलो विस्फोटक पदार्थ बारुदसमेत बरामद गरेको इलाका प्रहरी कार्यालय कटारीका निरीक्षक श्याम खड्काले बताउनुभयो ।
देवबहादुर कटुवालको घरमा बरामद गरिएका ती सामान देवबहादुरकै दाजु काजीमान कटुवालको भएको प्रहरीको दाबी छ । काजीमान भने फरार रहेकाले अहिले उनको खोजी भइरहेको छ । उक्त स्थानमा भालुको अवैध सिकार हुने गरेको सुराकी थाहा पाएपछि प्रहरीले राति कटुवालको घरमा छापा मारेको हो ।
बरामद गरिएको ती सामान इलाका वन कार्यालयको जिम्मा लगाएको छ भने बन्दुक र बारुद भने प्रहरीले नियन्त्रणमा लिएको इप्रकाले बताएको छ ।













प्रतिक्रिया