३० कार्तिक २०८३, सोमबार

रविलाई मन्त्री श्रेष्ठको सुझाव- तपाईं पुनः नेपालको नागरिक बन्नुहोस्, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सम्मान गर्नुहोस्

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १४ माघ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले रवि लामिछानेलाई नेपाली नागरिक बन्न सुझाव दिएका छन् ।

शुक्रबार साँझ लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर गर्दै उपप्रधान एवम् गृहमन्त्री रवि गैरनागरिक रहेको फैसला गरेपछि सामाजिक सञ्जालमा लेख्दै मन्त्री श्रेष्ठले उक्त सुझाव दिएका हुन् ।

उनले हजारौंको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई सम्मान गर्न समेत अनुरोध गरेका छन् । मन्त्री श्रेष्ठले संघीयता, सुशासन, समृद्धि र समाजवादको लागि पुनः मिलेर काम गर्नुपर्ने उल्लेख गरेका छन् ।

मन्त्री श्रेष्ठले भनेका छन्ः

रवि लामिछानेज्यू !
तपाईंले प्रतिनिधि सभा सदस्यमा अत्याधिक बहुमतले चुनाव जित्नु भएको कुरा सत्य हो । तपाईंको पार्टीले समग्रमा २० सिट प्रतिनिधि सभामा जितेको कुरा पनि सत्य हो । तपाईंको पार्टीले प्रदेशको अस्तित्वलाई चुनौती दिँदै उम्मेदवारी नै नदिएको कुरा पनि सत्य हो । तपाईं यो देशको उपप्रधानमन्त्री र गृहमन्त्री बनेको कुरा पनि सत्य हो । आज सर्वोच्च अदालतको फैसलापश्चात् तपाईं अनागारिक बनेको कुरा पनि सत्य हो । सर्वोच्चको फैसलापछि उक्त फैसलालाई सम्मान र स्वीकार गर्ने तपाईंको अभिव्यक्ति पनि सत्य नै होला ।
सुझाव छ- तपाईं पुनः नेपालको नागरिक बन्नुहोस् । अरूलाई दोष दिँदै राजनीतिको मैदानबाट पिठ फर्काएर नभाग्नुहोस् । हजारौंको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सम्मान गर्नुहोस् । रविजी ! आउनुहोस्, सङ्घीयता, सुशासन, समृद्धि र समाजवादको लागि पुनः मिलेर काम गरौँ ।