मुगु । रारा गएको जीप दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका-१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको आज काठमाडौंस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जीप दुर्घटनामा अञ्जुको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका जीप चालक ललितपुर-१५ का ५८ वर्षीय कञ्चन थापासहित अञ्जुलाई थप उपचारका लागि आज बिहान नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत हुँदै काठमाडौंको बिएण्डबी अस्पतालमा पुर्याइएको थियो ।
घाइते कञ्चनको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थपलियाले जानकारी दिए ।
उनका अनुसार घटनास्थलमै मृत्यु भएका तीन जना काठमाडौं कलकी बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको शव मुगुबाट सेनाको हेलिकोप्टरबाट सुर्खेत पुर्याइ सुर्खेतबाट शववाहन गाडीमार्फत काठमाडौं लगिएको छ ।
काठमाडौंबाट रारा तालतर्फ आउँदै गरेको वाग्मती प्रदेशको बा१७च १८६४ नम्बरको हाइलक्स गाडी आइतबार बेलुका मुगुको छायाँनाथ रारा नगरपालिका-७, टोप्लास्थित रारा जाने सडकको जिमाकाँरा भिरबाट ६०० मिटर तल खसेर दुर्घटना भएको थियो ।












प्रतिक्रिया