
काठमाडौं, ३ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षको हैसियतमा बस्न नसकेको नेपाली कांग्रेसलाई राष्ट्रपति र सभामुखमा आँखा नलगाउन चेतावनी दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले राष्ट्रपति र सभामुखलगायत संवैधानिक पदहरूको विषयमा सत्ता गठबन्धनसँग छलफल गर्न तयार रहेको जनाउ दिएपछि ओलीले सत्ता गठबन्धनमा सहमति भइसकेका विषयप्रति आँखा नलगाउन चेतावनी दिएका हुन् ।
कांग्रेसले संघदेखि प्रदेश तहका सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्ष दलको हैसियत गुमाएको टिप्पणी अध्यक्ष ओलीको छ । ‘संघदेखि प्रदेशसम्मका सरकारलाई विश्वासको मत दिएर तपाईंहरुले प्रमुख प्रतिपक्षको हैसियत गुमाइसक्नुभयो,’ अध्यक्ष ओलीले बैठकमा भने, ‘गठबन्धनमा सबै सहमति भइसकेको छ । तपाईंहरुले अहिले राष्ट्रपतिमा आँखा लगाउँदै हुनुहुन्छ । त्यो प्रयास नगर्दा हुन्छ ।’
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शंकर पोखरेल सहभागी थिए ।
त्यस्तै एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत उपस्थित थिए ।















प्रतिक्रिया