३१ आश्विन २०८३, शनिबार

‘स्ववियु निर्वाचनको परिणामले नेताको मूल्याङ्कन हुन्छ, नेतासँग फोटो खिचाउँदैमा नेता भइँदैन’

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अनेरास्ववियुले आसन्न स्ववियु निर्वाचनमा ल्याउने नतिजाले नेताहरुको मूल्याङ्कन हुने भएकाले चुनावमा प्रभावकारी रूपमा खटिन निर्देशन दिएका छन् ।

स्ववियु निर्वाचनका सन्दर्भमा अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका पूर्वध्यक्ष समेत रहेका महासचिव पोखरेलले नेताका अघि–पछि लागेर फोटो खिचाउने व्यक्ति अखिलको नेता हुन नसक्ने बताए ।

पोखरेलले एमाले र एमालेका संगठनहरूमा ३६४ दिन एमाले हुने र चुनावको दिन पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध लाग्ने प्रवृत्ति देखिएको बताउँदै स्ववियू चुनाव नेताहरूको परीक्षा भएको चर्चा गरेका हुन् । स्ववियु आफैँमा नेतृत्वको विकासको फोरमको रुपमा रहेको भन्दै उनले एक दशकदेखि हुन नसकेको स्ववियु निर्वाचन गराउन सबै लाग्नुपर्ने धारणा व्यक्त गरे ।

‘स्ववियु निर्वाचन तोकिएको समयमा हुनु पर्दछ,’ महासचिव पोखरेलले भने, ‘स्ववियु निर्वाचन टुटने क्रममा नेतृत्व उत्पादन पनि टुटेको छ । नेतृत्व खारिएर निर्माण हुने प्रक्रियाभन्दा पनि एकप्रकारकोे लहरले नेतृत्व निर्माण भइरहेको छ ।’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य माधवप्रसाद ढुङ्गेलले विद्यार्थी आन्दोलन जोगाउन स्ववियु निर्वाचन अनिवार्य भएको बताए भने अनेरास्ववियुकी अध्यक्ष एवम् प्रतिनिधि सचा सदस्य सुनिता बरालले त्रिविले तोकेको समयमा नै अनेरास्ववियु निर्वाचनमा होमिएको बताइन् ।

त्रिविले आगामी चैत ५ गते देशभरिका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन मिति तोकेको छ ।