
दाङ, २ माघ । सहकारी संस्थाका सञ्चालक समिति, उपसमिति र व्यवस्थापकीय कर्मचारीका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम आजदेखि दाङको घोराहीमा सुरू भएको छ ।
तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तालिमको आयोजना गरेको हो ।
तालिम तथा शिक्षा उपसमिति संयोजक जिवराज अधिकारीको अध्यक्षतामा भएको तालिमको उद्घाटन सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले गरेका छन् । उनले तालिमको उद्घाटन गर्दै संस्थालाई सफल रूपमा सञ्चालन गर्नका लागि क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको बताए ।
यस्तै संस्थाका सल्लाहकार भरत भण्डारीले तालिमले संस्था संचालनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले संस्थाको नेतृत्वदायी भूमिकालाई सफल बनाउनका लागि तालिम आवश्यक रहेको चर्चा गरे ।
संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक सूर्यप्रसाद शर्माले तालिममा सिकेका कुरालाई व्यवहार तहमा लागू गर्नुपर्ने बताए ।
मंगलबार भोलिसम्म सञ्चालन हुने तालिममा संस्थाका सञ्चालक समिति, विभिन्न उपसिमतिका पदाधिकारी र विभागीय व्यवस्थापकहरूको सहभागिता रहेको छ ।
तालिमको प्रशिक्षकहरूमा राष्ट्रिय सहकारी विकास बैङ्क लुम्बिनी प्रदेश शाखा प्रमुख नारायण बेल्वासे, आन्तरिक राजस्व कार्यालय तुलसीपुरका अधिकृत राजेन्द्र भण्डारी, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका लेखा सुपरीवेक्षण समिति संयोजक सुर्यप्रसाद शर्मा छन् ।
तालिम तथा शिक्षा उपसमिति सदस्य नोखी रावतको स्वागत मन्तव्यबाट सुरू भएको तालिमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले गरेका छन् ।















प्रतिक्रिया