
काठमाडौं, २ माघ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले हिजो पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाले मनलाई भित्रैबाट हल्लाएको बताएका छन् ।
नेपालमा हवाई र सडक दुर्घटना नियतिजस्तै बनिरहेको भए पनि त्यसको दीर्घकालीन समाधान वा न्यूनीकरणको उपाय अवलम्बन गर्नेतर्फ कसैको पनि ध्यान नपुगेको बताउँदै उनले यो विषयको दीर्घकालीन समाधान नखोजी यत्तिकै सेलाउने नियति दोहोरिन नहुनेमा जोड दिएका छन् ।
‘नेपालमा हवाई दुर्घटना, सडक दुर्घटनाहरू हाम्रो नियति जस्तै भैसकेका छन् । हरेक पटक दुर्घटना भएको केही दिनसम्म त्यसबारे चर्चा र चिन्ता हुन्छ, छानबिन समिति पनि बन्छ, तर कार्यान्वयन हुँदैन । केही समयपछि हामी घटनालाई बिर्सिन्छौँ,’ उनले ट्विट गर्दै भनेका छन्, ‘कार्यान्वयन तहदेखि, नियामक र नीति निर्माण तहसम्म कहीँ न कहीँ हामी यो प्रवृत्तिको अंशियार भएका छौँ ।’
तर, यसपटकको दुर्घटनाले मनलाई भित्रैबाट हल्लाएको भाव व्यक्त गर्दै थापाले भनेका छन्, ‘यस पटकको कहाली लाग्दो दुर्घटनाले मनलाई भित्रैबाट हल्लाएको छ । दृढ सङ्कल्पित छु, यो विषयको दीर्घकालीन समाधान नखोजी यत्तिकै सेलाउने नियति दोहोरिन दिनुहुन्न ।’
यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणको बारेमा सांसदका रूपमा गर्नु पर्ने काममा आफू निरन्तर लागिरहने सङ्कल्प उनले व्यक्त गरेका छन् । ‘दुर्घटनामा ज्यान गुमाउनुहुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली !’ उनले ट्टिरमा लेखेका छन् ।















प्रतिक्रिया