३१ आश्विन २०८३, शनिबार

‘विमान दुर्घटनामा मैले धर्मबुबा गुमाएँ, कोडिङ र आईटी पढ्ने योजना धुवाँको मुस्लोसँगै उड्यो’

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १ माघ । पोखरा–२६ सुन्दरीबजारका सुजन अधिकारी आज बिहानैदेखि निकै खुसी थिए ।

फ्रान्सबाट सुजनका धर्मबुबा पास्कल एलेक्जेण्डर आज पोखरा आउँदै थिए । नेपालमा सुजनलाई धर्मछोरा बनाएका एलेक्जेण्डर छोरा भेट्न आतुर थिए भने सुजन पनि धर्मबुबालाई भेट्न हतारिएका थिए ।

बिहानै जहाज चढ्ने बेलामा अबको १८ मिनेटमा पोखरा झर्छु भनेर म्यासेज छोडेका एलेक्जेण्डर सेती खोँचमा बिलिन भए ।

यता, सुजन बुबा लिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भए पनि जहाज दुर्घटनाको खबरले विक्षिप्त हुँदै दुर्घटनास्थलतर्फ लाग्नुभएको थियो । सेती खोँचबाट धुवाँको मुस्लो निस्कँदा नै उनको होसहवास उडेको थियो । पछि शवको सनाखत भएपछि उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम कक्ष प्राङ्गणमा झनै पीडामा छन् ।

उनीहरूको चिनजान भएको धेरै भएको छैन । एलेक्जेण्डर नेपाल आएको बेला बाटो बताउँदा भएको चिनजान धर्मबुबासम्म पुगेको सुजनले बताए । चिनजान भएदेखि नै आफ्नो हरेक सुखदुःखमा साथ दिने धर्मबुबा गुमाउनुपर्दा असह्य भएको उनले सुनाए । ‘हाम्रो चिनजान भएको धेरै भएको छैन । दुई वर्षअघि बाटो चिनाउँदा भेट भएको हो । त्यो बेला कुराकानी भएपछि उहाँले मलाई सहयोग गर्न थाल्नुभयो,’ सुजनले भने, ‘मेरो आफ्नै बुबा सानैदेखि म र ममीबाट टाढा हुनुहुन्थ्यो । त्यो कारण पनि उहाँलाई भेटेपछि मैले धर्मबुबा मानेको थिएँ ।’

शनिबार मात्रै काठमाडौँ झरेर आफूलाई भेट्नकै लागि पोखरा आएको सुजनले बताए । ‘उहाँ मलेसिया हुनुहुन्थ्यो शनिबार नेपाल आएपछि मलाई भेट्न पोखरा आउनुभएको थियो,’ उनले भने, ‘मसँग हरेक क्षण म्यासेजमा कुरा गर्नुहुन्थ्यो अन्तिम पटक जहाज चढ्ने बेला बोल्नुभएको थियो । उहाँले छिट्टै भेट हुन्छ यो पटक मिठाइ ल्याउन पाइन पनि भन्नुभएको थियो ।’

धर्मबुबा एलेक्जेण्डरको जहाज दुर्घटनामा निधन भएसँगै आफ्नो जिन्दगीले फरक रूप लिने उनले बताए । पढ्नदेखि मन परेको लुगा लगाउन, खानका लागि एलेक्जेण्डरले आर्थिक सहयोग सुजनले पाइरहेका थिए । ‘मलाई जहिले पनि सहयोग गर्नुहुन्थ्यो । पछिल्लो समय उहाँसँगै मलेसिया घुम्न जाने भनेर टिकट काटिदिनुभएको थियो । मेरो डकुमेण्ट नमिलेर जान पाइएन,’ सुजनले भने, ‘भविष्यमा उहाँसँगै फ्रान्स जाने योजना थियो सबै चकनाचुर भयो ।’ कक्षा १२ को परीक्षा सकेर बसेका सुजनले धर्मबुबा एलेक्जेण्डरलाई भनेर कोडिङ र आईटी विषय पढ्ने योजना बनाए पनि धुवाँको मुस्लोसँगै सबै सपना उडेको बताए । रासस