
काठमाडौं, १ माघ । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले आमा–बुबा सबै भन्दा ठूला देवता भएकाले सम्मान गर्न नयाँ पुस्तालाई आग्रह गरेका छन् ।
आमा–बुबाको हेरविचार र स्याहार गर्ने कार्यले नै सबै भन्दा ठूलो पुण्य प्राप्त हुने बताउँदै उनले युवा पुस्तालाई व्यक्तिवादी स्वार्थबाट माथि उठ्न आग्रह गरेका हुन् ।
ललितपुरको लामाटार क्षेत्रमा हिजो शनिबार ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेर सम्मान गर्दै श्रेष्ठले पछिल्लो समय ज्येष्ठ नागरिकहरु अपहेलित हुनुपरेको बताए ।
लामाटार कृषि बहुउद्देशीय सहकारी संस्थाले लामाटारको राम मन्दिर परिसरमा श्रेष्ठको प्रमुख आतिथ्यतामा विषेश कार्यक्रमको आयोजना गरेर २०० जना भन्दा बढी ज्येष्ठ नागरिकलाई जाडोमा न्यानो हुने कम्बल वितरण गरेको हो ।
संस्थाका अध्यक्ष देवेन्द्र पौडेलले राम मन्दिर परिसरमा न्यानो हुने कम्बल प्रदान गरी ज्येष्ठ नागरिकको सम्मान गरेर आफूहरुले नयाँ पुस्तालाई शिक्षा दिन खोजेको र सहकारी क्षेत्रप्रति नै भइरहेको अविश्वासको अन्त्य गर्न खोजेको बताए ।
संस्थाका सञ्चालक उपाध्यक्ष पुष्करराज प्याकुरेलले किसानहरुको हकहितका लागि काम गर्दै आएको संस्थाले समाजमा राम्रो सन्देश दिने यस्ता कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।















प्रतिक्रिया