
काठमाडौं, १ माघ । कृषि उत्पादन प्रवर्द्धन र बजारीकरणका लागि राष्ट्रिय खाद्य बैंकले ‘एक पालिका एक उत्पादन’ मा जोड दिएर अघि बढ्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
राष्ट्रिय खाद्य बैंक लिमिटेडको दोस्रो वार्षिकोत्सवका अवसरमा हिजो शनिबार आयोजित कार्यक्रमका वक्ताले खाद्य बैंकलाई स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै पोसिलो आहारको लागि दीगो कृषि उत्पादन गरिनुपर्नेमा जोड दिएका हुन् ।
पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खाद्य बंैकले रैथाने बालीको सङ्कलन र बजारीकरण गर्दै उपभोक्ता माझ गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउने कार्य थालेको भन्दै यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए भने नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले देश कृषि प्रधान भएर पनि कृषि उत्पादन विदेशको भर रहेको भन्दै रैथाने बाली उत्पादनका लागि किसानलाई प्रोत्साहन र सहुलियतको व्यवस्था गरिनुपर्ने बताइन् ।
प्रा डा मोहनप्रसाद पन्थीले आधुनिक कृषि उत्पादनले रैथाने बाली उत्पादनमा ह्रास आएको र यसले गुणस्तरहीन खाद्यवस्तुको व्यापार मौलाइरहेको भन्दै परम्परागत रैथाने खानाको संरक्षण प्रवर्द्धनका लागि अग्र्यानिक उत्पादनमा कृषकलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिएका भने खाद्य बैंकका कार्यकारी अध्यक्ष शङ्करनाथ उप्रेतीले रैथाने बाली उत्पादन तथा बजारीकरण गर्दै उपभोक्ता माझ गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउन संस्था सफल भएको बताए ।
‘पोसिलो आहारको लागि दीगो कृषि उत्पादन, हाम्रो अभियान’ भन्ने नाराका साथ स्थापना भएको बैंकले आफ्ना कृषि उत्पादन चार प्रदेश अन्र्तगतका २३ जिल्लाबाट गरिरहेको र आगामी दिनमा सातै प्रदेशबाट अर्ग्यानिक कृषि उपज उत्पादनमा खाद्य बैंक लागि पर्ने अध्यक्ष उप्रेतीले जानकारी दिए । बैंक स्थापनाको दुई वर्षमा ३० लाख रुपैयाँ नाफामा गएको उनको भनाइ छ ।
खाद्य बैंकका सल्लाकार दुर्गाबहादुर थापा, पूर्वसांसद जयराम दाहाल, योगेन्द्रनारायण शाह, दुर्गानाथ गौतम, पद्मा खड्का, प्रा डा जीवनाथ धिताललगायतले कृषि क्षेत्रको विकास र विस्तारमा सरकारले यथेष्ट ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।















प्रतिक्रिया