३१ आश्विन २०८३, शनिबार

दिनभरका TOP 15 NEWS : कांग्रेस सत्तापक्ष भएकोदेखि घनश्यामले पद पाएको र गगनको गर्जनसम्म

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० पुस । आज शनिबार, विशेषतः राजनीतिक घटनाक्रम र दलका नेताहरूका विभिन्न वक्तव्यवाजीहरू नै आज दिनभरका समाचारमा प्रमुख मुद्दा बने ।

सरकार विस्तार र सभामुखको निर्वाचनलगायत विषयमा छलफल गर्न केही दिनयता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उच्चस्तरीय संयन्त्रका प्रमुख समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दैनिकजसो भेटवार्ता हुँदै आएको छ, जुन आज पनि भयो । तर, सहमति भएको कुनै विषय बाहिर आएको छैन ।

यस्तै, आज गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् भने प्रधानमन्त्री स्वयम्ले विभिन्न कार्यक्रममा सहभागी हुँदै सरकार र आफ्नो व्यक्तिगत धारणाहरू सार्वजनिक गरे । यस्तै, नेताहरूले कांग्रेस सत्तापक्ष भएको, पूर्वप्रधानमन्त्रीत्रय प्रचण्ड, शेरबहादुर र केपीलगायतले देशलाई अखडा बनाएकोलगायत अभिव्यक्तिहरू दिएका छन् ।

हेरौँ आज दिनभरमा मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

१. सहमति जुटाउन भेटवार्ता तीव्र : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता, सरकार विस्तार र सभामुखको निर्वाचनलगायत विषयमा छलफल ।

२. अभूतपूर्व मत पाएँ : प्रतिनिधिसभाबाट आफूले अभूतपूर्व विश्वासको मत पाएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, सिङ्गो देशलाई एकतावद्ध भएर जाने वातावरण बनेको दाबी ।

३. प्रधानमन्त्री–गृहमन्त्री भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता, मन्त्रिमण्डल विस्तारलगायत विषयमा छलफल ।

४. वर्षमान पुन फेरि अस्वस्थ : स्वास्थ्यमा समस्या देखिएपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई रोल्पाबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो, सुमेरु अस्पतालमा भर्ना गरी उपचार हुँदै ।

५. आन्दोलन छोड्न गृहमन्त्रीको आग्रह : निर्मला कुर्मी र नकुन्नी धोवीको मृत्यु प्रकरणको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै धर्नामा बसेकाहरूलाई घर फर्किन गृहमन्त्री रवि लामिछानेको आग्रह, प्रक्रिया पुर्याएर अनुसन्धान गर्ने र पीडितलाई न्याय दिलाउने प्रतिवद्धता व्यक्त ।

६. पूर्वप्रधानमन्त्रीहरूमाथि गगनको गर्जन् : तीन जना भूतपूर्व प्रधानमन्त्रीहरूले देशलाई अखडा बनाएको नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको आरोप, अखडाभित्र कसले कसलाई झुक्याउने, छक्काउने र कसले कसलाई ढाल्ने खेल भइरहेको बनाइ ।

७. काँग्रेस पनि सत्ता पक्ष नै हो : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएसँगै नेपाली कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रूपमा प्रतिपक्षी दल नभएको नेकपा एमालेका सचिव रघुवीर महासेठको भनाइ, एमालेको प्रयास र माओवादीको समर्थनमा मुलुकलाई कांग्रेसको चङ्गुल र दलदलबाट बाहिर ल्याएको दाबी ।

८. सरकारमा जादैनौँ : सरकारमा जाने कुरा तत्काल सम्भव नभएको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर शर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको धारणा ।

९. घनश्यामले पाए जिम्मेवारी : नेकपा एकीकृत समाजवादी प्रवेश गरेका घनश्याम भुसालले पाए जिम्मेवारी, सचिवालय सदस्यमा मनोनित, पाएनन् महासचिव ।

१०. धिताल बने सभामुख : गण्डकी प्रदेशका मुख्यमन्त्रीमा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित, ६० सदस्यीय प्रदेशसभाबाट धितालले ३२ मत पाउँदा उनकी प्रतिस्पर्धी नेपाली काँग्रेसकी सरस्वती अर्यालले २५ मत पाइन् ।

११. सहकारीको अनुगमनमा महानगर : काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारी संस्थाहरूको अनुगमन गर्ने, निर्देशन पालना नगरे सहकारी ऐनअनुरूप कारबाहीको प्रक्रिया अघि बढाउने तयारी ।

१२. स्वचालित भाडा लागू गर : मिटरजडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजको माग, ट्याक्सी व्यवसाय र लगानीको सुरक्षा गर्न माग गर्दै कडा आन्दोलन गर्ने चेतावनी ।

१३. किशोरीको मृत्युपछि तनाव : पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको सिसैयामा ट्याक्टरको ठक्करबाट १८ वर्षीया तारा मल्लको मृत्यु, स्थानीयद्वारा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध ।

१४. कैदी नै हड्तालमा : कठोर एकान्त कारावास अभ्यासको विरोधमा अमेरिकाको दक्षिण मध्यराज्य टेक्सासमा ७० भन्दा बढी कैदीद्वारा भोक हडताल सुरू, माग पूरा नभएसम्म हडताल जारी राख्ने चेतावनी ।

१५. हेल्प नेपाल फाइनलमा : सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशीपअन्तर्गत पुरुषतर्फ हेल्प नेपाल फाइनल चरणमा प्रवेश, दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब ३–२ को सेटमा पराजित ।