
काठमाडौं, ३० पुस । नेकपा (एमाले) का सचिव एवम् प्रतिनिधि सभा सदस्य रघुवीर महासेठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएसँगै नेपाली कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रूपमा प्रतिपक्षी दल नभएको बताएका छन् ।
कांग्रेसले के उद्देश्य राखेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्ने कुरा माघभित्रै सबै छर्लङ्ग हुने बताउँदै उनले सरकारलाई समर्थन गर्दैमा उसले राष्ट्रपति र सभामुख नपाउने पनि स्पष्ट पारेका छन् ।
आज शनिबार राजधानीमा भएको साक्षातकार कार्यक्रममा उनले एमालेको प्रयास र माओवादी केन्द्रको समर्थनमा मुलुकलाई कांग्रेसको चंगुल र दलदलबाट बाहिर ल्याउन सफल भएको टिप्पणी पनि गरेका छन् ।
‘अहिले देशको राजनीति कांग्रेसको मिश्रित चंगुल र दलदलबाट एमालेको प्रयासबाट त्यो राजनीतिलाई बाहिर ल्याइएको छ । यो देश र राष्ट्रियताको लागि ठूलो जरूरी थियो,’ पूर्वमन्त्री समेत रहेका महासेठले भने, ‘एमालेको पहल र माओवादीको सहयोगमा राजनीतिलाई कांग्रेसको दलदलबाट बाहिर निकाल्ने काम भएको छ । यसको रिजल्ट ६ महिनापछि थाहा हुन्छ ।’
नेपालको राजनीतिलाई देशी तथा विदेशी शक्तिले कसरी कांग्रेसको चंगुल र दलदलमा पारेको थियो भन्ने कुरा ६ महिनापछि थाहा हुने सनसनीपूर्ण खुलासा उनले गरेका छन् । मंसिर ४ गते सम्पन्न भएको निर्वाचन भन्दा अघिको स्थिति र अहिलेको स्थिति धेरै फरक रहेको दाबी उनको छ ।
‘हिजो कांग्रेसले केही मित्रराष्ट्र शक्तिहरुको भरमा यहाँका साना–साना पार्टीलाई मिलाएर देशलाई एउटा अलग बाटोमा लगेको थियो, जुन बाटोमा जाने प्रयास भएको थियो त्यसलाई एमाले र माओवादीको सहयोगले रोक्ने काम भएको छ । र, आज देशमा ७ दलको सरकार बनेको छ,’ महासेठले भने ।















प्रतिक्रिया