
काठमाडौं, २७ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले संसदमा आफूहरुको भूमिका रचनात्मक प्रतिपक्षीकै हुने स्पष्ट पारेका छन् ।
बुधबार पार्टी निकट अनेरास्ववियू केन्द्रीय कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले संविधानको कार्यान्वयनका साथै मुलुकको विकास र सुशासनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको भएपनि आफूहरुको भूमिका संसदमा रचनात्मक प्रतिपक्षीकै हुने बताएका हुन् ।
विश्वासको मत दिएपछि सत्तापक्ष नै हुने भन्ने गलत व्याख्या भएको भन्दै अध्यक्ष नेपालले विश्वासको मत दिएर प्रतिपक्षमा बसेको अनुभव २०५१ सालमा नै रहेको उनको भनाइ थियो ।
त्यस्तै उनले संसद बिघटनको चर्चा संसदमा पनि सुनिन थालेको र यसले जनतामा पुन: आशंका जन्माएकाले यस बारेमा आफुले प्रधानमन्त्री प्रचण्डसंग प्रश्न गरेको बताए । अध्यक्ष नेपालले देश सञ्चालनको नेतृत्वमा बसेका व्यक्तिहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने, संविधान, राष्ट्रियताको रक्षा गर्नुपर्ने र देशलाई विदेशीको क्रिडास्थल बनाउनबाट रोक्नुपर्ने भन्दै आफूहरुले पनि सरकारलाई सही बाटो देखाउने धारणा राखे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीकातर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएका सांसदहरुलाई सम्मान गरिएको थियो ।















प्रतिक्रिया