३१ आश्विन २०८३, शनिबार

संयुक्त सरकार बनाउन कांग्रेस नमानेपछि यो सरकार बनेको हो, सफल पार्नुको विकल्प छैन : शंकर पोखरेल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ जनादेशका आधारमा गठन भएको वर्तमान सरकारलाई सफल पार्नेबाहेक अर्को विकल्प नभएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालमा केही काम गरेर देखाउन चाहेको प्रसङ्ग जोड्दै महासचिव पोखरेलले एमालेले सरकारलाई सफल बनाउन अधिकतम कोशिश गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । नेकपा एमाले केन्द्रीय विज्ञान तथा प्रविधि विभागको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेले एमाले र माओवादी बीचको सत्ता सहकार्य तोड्ने खेल शुरू भइसकेको बताएका छन् ।

मुलुकमा अस्थिरता रोक्न र स्थायित्वका लागि नेपाली काँग्रेससँग पनि संयुक्त सरकार गठनका लागि एमालेबाट प्रस्ताव गरिएको बताउँदै पोखरेलले काँग्रेसले रूचि नदेखाएपछि स्वाभाविक रूपमा पाँचदलीय गठबन्धन छोडेर आएको माओवादीसँग सरकार गठन गर्ने सहमति भएको स्पष्ट गरे ।

सरकार गठनमा सफलता मिले पनि सरकारका सामु चुनौतीहरू अरू ज्यादा वृद्धि भएको र नेपाली काँग्रेस अहिलेको सत्तासमीकरण भत्काउने उपयुक्त अवसरको खोजीमा रहेको महासचिव पोखरेलले बताए । वर्तमान सरकार केही काम गरौं भन्ने चाहना राख्नेहरूको साझेदारी भएको बताउँदै यसलाई ऊर्जाका रूपमा लिनुपर्ने विचार व्यक्त गरे ।

महासचिव पोखरेलले एमाले दलहरूबीच नीतिमा आधारित सहकार्यमा जोड दिने बताउँदै एमाले र माओवादी केन्द्रबीचको सहकार्य पनि क्रमशः त्यही दिशामा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले सरकार सञ्चालनको मार्गदर्शनका रूपमा रहेकोे न्यूनतम साझा कार्यक्रममा एमालेले उठाएका राष्ट्रिय मुद्दा सहमतिका साथ समावेश गर्न सफल भएको बताए ।