
काठमाडौं, २५ पुस । नेकपा (एमाले) ले आगामी चैत मसान्तभित्र जनसङ्गठनहरूको राष्ट्रिय अधिवेशन/सम्मेलन गर्न निर्देशन दिएको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले अधिवेशन/सम्मेलन गर्न बाँकी रहेका जनसङ्गठनले तीन महिनाभित्र सकाउनुपर्ने निर्देशन दिएका हुन् ।
दुई दिनसम्म चलेको संगठन सुदृढीकरण कार्यशालामा संयन्त्रका प्रमुख ढकालले एमालेका २२ वटामध्ये १४ वटा जनसंगठनको अधिवेशन सम्पन्न भइसकेको र बाँकीलाई चैत मसान्तभित्रै गर्न निर्देशन दिइएको जानकारी दिए ।
उनका अनुसार एमालेमा राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु, अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल किसान महासङ्घ, पेशागत महासङ्घ नेपाल, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, नेपाल खेलकुद महासङ्घ र रिटर्नी फेडरेशन नेपाल गरी आठ जनवर्गीय सङ्गठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी रहेको छ ।
एमालेको तत्कालीन नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता भइपछि जनवर्गीय सङ्गठनको समयमा हुनुपर्ने राष्ट्रिय सम्मेलन र अधिवेशन हुन सकेका थिएनन् ।
ढकालले जनवर्गीय सङ्गठनलाई केन्द्रीय कमिटी बैठकलगायत विधानले व्यवस्था गरेका स्थानीय तहसम्मका अधिवेशन/सम्मेलन, बैठक, भेला तथा प्रशिक्षण अविलम्ब र नियमित गर्न निर्देशन दिएको बताए ।















प्रतिक्रिया