
काठमाडौं, २४ पुस । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सुशासनलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि सरकारको प्रभावकारी भूमिका रहने भन्दै प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकता दिइएको बताएका हुन् ।
यसैबीच, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउने बताएका छन् ।
काभ्रेको धुलिखेलमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेमा शंका नगर्न आग्रह गरेका हुन् ।
हेरौँ आइतबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु-
१. सरकारको प्राथमिकतामा सुशासन : भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिका रहने भन्दै सबैको जागरण जरूरी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, गठबन्धनको न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकता दिइएको जानकारी ।
२. विश्वासको मतमा शंका छैन : वर्तमान सरकार एमालेले बनाएको हुनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, अरुले बनाइदिएको सरकार मान्नुपर्ने अवस्था एमालेले अन्त्य गरेको दाबी ।
३. राहदानी वितरण सुचारू : सर्भरमा समस्या आएपछि रोकिएको राहदानी वितरण कार्य पुनः सुचारू, राहदानी तयार रहेको सन्देश आएपछि वा नेपाल ई–पासपोर्ट एपमा ‘राहदानी तयार छ’ भन्ने जानकारी प्राप्त भएपछि सम्पर्क गर्न सेवाग्राहीलाई राहदानी विभागको आग्रह ।
४. अनुसन्धानमा सघाउनुस् धर्ना होइन : बाँकेकी बेपत्ता निर्मला कुर्मी प्ररकरणमा भइरहेको धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री रवि लामिछानेको आग्रह, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको भनाइ ।
५. एमालेका कार्की मुख्यमन्त्री : प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की नियुक्त, प्रदेश प्रमुख पर्शुराम खापुङले भोलि सपथ गराउने ।
६. इन्स्पेक्टरमाथि नै छानबिन : काठमाडौंको शङ्खरापुरमा आन्दोलनरत स्थानीयलाई पेस्तोल देखाउने प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीमाथि प्रहरी प्रधान कार्यालयले थाल्यो अनुसन्धान, बुढाथोकीले गैरव्यावसायिक कार्य गरेकोमा छानबिन थालिएको प्रहरी प्रधान कार्यालयको भनाइ ।
७. पानी ठानेर स्प्रिट खुवाएपछि… : शिक्षिकाले पानी ठानेर दिएको स्प्रिट सेवनबाट सिरहाको मिर्चैयास्थित सगरमाथा माविमा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जनाकुमारी महराको मृत्यु भएपछि स्थिति तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर तथा अश्रृग्यास प्रहार ।
८. कार्यगत एकता गर्न १२ बुँदे सम्झौता : कार्यगत एकताका लागि जनमत र नागरिक उन्मुक्ति पार्टीले गर्यो १२ बुँदे सम्झौता, विभिन्न मुद्दाहरुमा सहकार्य र राष्ट्रिय राजनीतिमा समन्वयकारी तथा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नका लागि मोर्चाबन्दी गर्ने समझदारी ।
९. परीक्षण उडान सफल : गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा नवनिर्मित ‘रेसुङ्गा विमानस्थल’मा तारा एयरले गर्यो सफल परीक्षण उडान, नियमित उडान गर्ने तयारी ।
१०. आए नयाँ राजदूत : नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ नेपाल आइपुगे, परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले विमानस्थलमा गरे स्वागत ।
११. विश्वासको मत दिने : राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने, सांसदहरुलाई अनिवार्य उपस्थित हुन अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशन ।
१२. जबरजस्ती करणीका अभियुक्त पक्राउ : ललितपुरको धापाखेलमा १७ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका १९ वर्षीय बेधबहादुर नेपाली पक्राउ, सिन्धुलीको फिक्कल गाउँपालिका–६ का नेपालीले किशोरीको टहरोमै गएर करणी गरेको प्रहरीको भनाइ ।
१३. इराकमा गरिबीको दर उच्च : इराकी कुल जनसंख्यामध्ये एक चौथाइ नागरिक गरिबीको रेखामुनि रहेको इराकको योजना मन्त्रालयको तथ्याङ्क सार्वजनिक, कोरोना भाइरस महामारीको असर र तेलको मूल्यमा आएको गिरावटका कारण उच्च गरिबी दर देखिएको दाबी ।
१४. क्रिकेटमा फिक्सिङको भएको निष्कर्ष : काठमाडौंमा जारी नेपाल टी–ट्वेन्टी लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको प्रारम्भिक निष्कर्ष, कम्तीमा तीन नेपाली र चार विदेशी खेलाडी संलग्न रहेको अनुमान ।
१५. लुम्बिनी फाइनलमा : काठमाडौंमा जारी नेपाल टी–ट्वेन्टी लिगमा जुम्बिनी अल स्टार्स फाइनलमा प्रवेश, जनकपुर रोयल्स ६ रनले पराजित ।















प्रतिक्रिया