३१ आश्विन २०८३, शनिबार

सिरहा अपडेट : डीएसपी ओलीसहित आठ जना प्रहरी घाइते, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लाहान, २४ पुस । सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडकोे ढुङ्गामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीसहित आठ जना प्रहरी घाइते भएका छन् ।

बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटकपटक झडप भएको थियो । भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रुु ग्यास र गोलीसमेत चलाउनुपरेको थियो ।

झडपमा आन्दोलनकारीले पेट्रोल बमसहित ढुङ्गामुढा प्रहार गरेको मिर्चैया प्रहरी कार्यालयले जनाएको छ । आन्दोलकारीको प्रहारबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामकुमार चौधरी गम्भीर घाइते भएको डीएसपी ओलीले जानकारी दिए ।

चौधरीको उपचारका लागि काठमाडौं रेफर गरिएको र अन्यको स्थानीय मङ्गलम अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार गर्ने दुई व्यक्ति प्रहरी नियन्त्रणमा रहेको र आन्दोलनकारीतर्फ कुनै क्षति नभएको प्रहरी प्रवक्ता एवं सिरहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

विद्यालयको लापरबाहीका कारण छात्रा सिर्जनाकुमारी महराको उपचारको क्रममा गएराति निधन भएको थियो । अहिले राजमार्गमा सवारीसाधन आवतजावत सुचारु रहेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।