
बंगलादेश, २३ पुस । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई आफूहरूले विशिष्ट ढङ्गले अगाडि बढाएको बताउनुभएको छ ।
बंगलादेशको राजधानी ढाकामा जारी बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जनताको बहुदलीय जनवादको नेतृत्वमा एमालेले शान्तिपूर्ण रूपमा नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्दै आएको बताएका हुन् । एमाले नेपाली जनताको आकांक्षा र सपना पूरा गर्न सक्ने एक मात्र राजनीतिक शक्तिका रूपमा उभिएको पोखरेलको भनाइ छ ।
नेपालमा भर्खरै सम्पन्न स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा चौतर्फी घेराबन्दीका बाबजुद पनि एमालेले लोकप्रिय मत प्राप्त गरेको उनले महाधिवेशनमा जानकारी गराए । ‘चुनावमा हामीले संसदमा बहुमत प्राप्त गरेर सरकार बनाउने लक्ष्य राखेका थियौँ । तर, हाम्रो पार्टी र पार्टी नेतृत्वविरुद्ध प्रतिक्रियावादी शक्तिहरूको निरन्तरको आक्रमण, अफवाह र सरकारद्वारा गरिएको चुनावी धाँधलीका कारण हामीले केही सीट गुमायौँ, उनले भने, ‘एउटै दलको सरकार बनाउन संसदमा कसैको पनि बहुमत छैन । त्यसैले जनताको जनादेशलाई सम्मान गर्दै हाम्रो पार्टीले वामपन्थी दल र देशका लागि सकारात्मक भूमिका खेल्न चाहनेलाई एकै ठाउँमा ल्याएर गठबन्धन सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’
एमालेले वाम दलहरू एकजुट भएर सरकारको नेतृत्व गर्ने वर्तमान अवस्था सृजना गर्न जिम्मेवार भूमिका निर्वाह गरेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए । ‘हामी राजनीतिक सहमति र व्यवस्थामा मात्र केन्द्रित छैनौँ, उच्च नैतिक र सांस्कृतिक मूल्यमान्यतामा आधारित नेपाली समाजको स्थापनामा केन्द्रित छौं,’ उनले भने ।

एमालेलाई नेपाली जनताको समर्थनको बढ्दो लहरले नेपाली जनतामा एमालेको लोकप्रियतालाई जनाउने बताउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले अनुभव सुनाउँदै भने, ‘यी उपलब्धिहरू हामीलाई उपहारका रूपमा आएका होइनन, हाम्रा संघर्ष, धैर्यता र हाम्रा मार्गदर्शक सिद्धान्त र कार्यक्रमहरू–जनताको बहुदलीय जनवाद र हाम्रो राष्ट्रिय महत्वाकांक्षा–समृद्धिको उपलब्धिका रूपमा आएका हुन् ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेलाई महाधिवेशनमा आमन्त्रण गरेकोमा पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आभार व्यक्त गरे । सन् १९९३ मा भएको बंगलादेश भ्रमणलाई स्मरण गर्दै उनले बंगलादेशले विगतका वर्षहरूमा गरेको उल्लेखनीय विकास उपलब्धिहरू देखेर खुसी भएको बताए ।
नेपाल र बंगलादेशबीच ५० वर्षको समस्यामुक्त र उत्कृष्ट कूटनीतिक सम्बन्ध रहेको बताउँदै पोखरेलले दुवै देश कठिन समयमा एकसाथ उभिएको र विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा एकअर्कालाई समर्थन गरेको उल्लेख गरे ।















प्रतिक्रिया