
काठमाडौं, २२ पुस । पुष २५ गते बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको सर्वदलीय बैठकले संसदको पहिलो बैठकको एजेण्डा तय गरेको हो ।
पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दुईघण्टाभित्र दलीय आधारमा समय निर्धारण गरेर दलका प्रतिनिधिहरुलाई बोल्न समय दिईने संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । सभामूख र उपसभामुखको निर्वाचन नभएसम्म र कार्यव्यवस्था परामर्श समिति गठन नभएसम्म पुरानै नियमावली अनुसार बैठक बस्ने उनले बताए ।
उनले दोश्रो बैठक पुष २६ गते ११ बजे नै बोलाउने सहमति भएको जानकारी दिए । सभामूख र उपसभामुखको निर्वाचनकाबारेमा पनि छलफल भएको र दलहरुबीचको समन्वयका आधारमा पछि मिति तोक्ने कुरा भएको धमलाले बताए ।
त्यस्तै बैठकपछि कांग्रेस मुख्य समेतक रमेश लेखकले पुष २५ गतेको एजेण्डा तय भएको र पुष २६ गते विश्वासको मत लिने कार्यतालिकाका बिषयमा छलफल भएको बताए । उनले माघ ७ गते सभामुख र ९ गते उपसभामुखको निर्वाचन गर्ने प्रस्ताव गरेको र लगभग सहमति जुटेको जानकारी दिए ।
लेखकले विश्वासको मतकाबारेमा कांग्रेसको संसदीय दलको बैठकले औपचारिक धारणा तय गर्ने र आफ्नो नेतृत्वमा सरकार गठनका लागि कांग्रेसले कुनै पहल नगरेको स्पष्ट पारे । त्यस्तै, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले पुष २६ गते विश्वासको मत लिने र यसका लागि सवै दलहरुसंग छलफल भइरहेको जानकारी दिए ।
मुलुकको समृद्धिका लागि वर्तमान सरकारलाई सबै दलले समर्थन गर्ने उनको विश्वास छ । प्रतिनिधिसभाको अधिवेशन पुष २५ गते दिउँसो १ बजे बोलाइएको छ ।















प्रतिक्रिया