३१ आश्विन २०८३, शनिबार

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव फागुनमा हुँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९ आगामी फागुन पहिलो साता राजधानीमा आयोजना हुने भएको छ ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएकोमा यस पटक अगामी फागुन २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।

प्रदर्शनीको बारेमा हिजो बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले मुलुकभरका झण्डै ६ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने बताए ।

‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौं’ र ‘मिहिनेत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने प्रदर्शनीको मुख्य नारा रहेको भन्दै उनले भने, ‘हाम्रा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धन समेत गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगलगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुस, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुनेछन् ।’

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासंघले जनाएको छ । प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रूपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ ।

नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरूलाई समेत आकर्षित गर्न अर्गानिक उत्पादनलाई नेपाल सरकारले प्रोत्साहन गरिरहेको र यस्ता उत्पादनहरू उपभोग गर्न उपभोक्ताहरू समेत जागरुक रहेको परिप्रेक्ष्यमा अर्गानिक उत्पादनहरूका बारेमा आम नागरिकलाई सचेतना गराउने र सहज रूपमा अर्गानिक उत्पादनहरू उपलब्ध गराउन यस्ता उत्पादनको बिक्री वितरणलाई सहयोग पुर्याउने उद्देश्यका साथ अर्गानिक एसोसियसनसँगको सहकार्यमा कृषिका अर्गानिक उत्पादनहरूको छुट्टै प्याभिलियनमार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको अध्यक्ष सिंहले जानकारी गराए ।

अर्गानिक उत्पादनहरूको बारेमा आम नागरिकमा जानकारी दिँदै त्यस्ता उत्पादनको प्रवर्द्धन गरी अर्गानिक अभियानलाई टेवा पुर्याउन उत्पादक र उपभोक्ताको साझा मञ्चको विकास गरी अर्गानिक उत्पादनको बजार प्रवर्द्धन गर्ने र शुद्ध भोजन स्वस्थ्य जीवनको भन्ने जनचेतना अभिवृद्धि गर्ने लक्ष्य प्राङ्गारिक कृषि मेलाको रहेको छ भने नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने, उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याई मूल्य अन्तरलाई न्यूनीकरण गर्दै सुपथ मूल्यमा अर्गानिक उत्पादनहरू उपलब्ध गराउने, अर्गानिक विषयहरूमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिने आयोजक पक्षले जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने यस मेलाको सह–आयोजकको रूपमा अर्गानिक एसोसिएशन अफ नेपाल, नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय–व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बागमती प्रदेश सरकार, सुदुरपश्चिम प्रदेश सरकार आदि रहने छन् । त्यसैगरी अन्य सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरू यसका प्रवद्र्धक र सहयोगी रहनेछन् ।

पत्रकार सम्मेलनमा महासंघका सल्लाहकार वासु गिरी, लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्षहरू क्रमशः मुकेश उपाध्याय, महेन्द्र चित्रकार, राजेन्द्रमान श्रेष्ठ, मोहन कटुवाल, शान्ता बास्कोटा, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत प्रसाद पाण्डे, केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष रोशनी उपाध्याय, वरिष्ठ उपाध्यक्ष रिता अवाल, महासंघ काठमाडौं जिल्ला अध्यक्ष पद्ममुमारी कार्की, केन्द्रीय महिला उद्यमी समितिका महासचिव डा. सोनी महतो र सचिव दीपा शाक्य, बागमती प्रदेश महिला उद्यमी समितिकी अध्यक्ष सुलोचना श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।