
काठमाडौं, २२ पुस । काठमाडौंमा जारी नेपाल टी-ट्वेन्टी लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टार्सलाई पराजित गरेको छ । जितसँगै एक खेलअगावै प्लेअफ पुगेको जनकपुरले लुम्बिनीसँगै क्वालिफायर्स खेल्ने पक्का भएको छ ।
जनकपुरले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित १७ ओभरमा १ सय ३६ रन मात्रै बनाउन सक्यो । लुम्बिनीका अनिल शाहले सर्वाधिक ३५ रन योगदान गरे । उनले २१ बलमा तीन छक्का र एक चौका प्रहार गरे । ओपनर लाहिरु मिलन्थाले ३२ रन जोड्दा सुनिल धमला २७ रन र गुलसन झा १० रनमा आउट भए । त्योबाहेक लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जनकपुरका ट्रेभोन ग्रिफितले ४ ओभरमा ३० रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । समिउल्लाह शिनवारीले दुई विकेट लिँदा अशन प्रियन्जनले एक विकेट लिए ।
यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरका लागि कप्तान ग्रिफितले आक्रामक इनिङ खेले । उनले ११ बलमा ५ छक्का र तीन चौका प्रहार गर्दै जनकपुका लागि सर्वाधिक ४७ रनको अविजित इनिङ खेले । ओपनर शरार्फुदिन असरर्फ १८ बलमा ५ चौका र एक छक्कासहित ३४ रनमा आउट हुँदा खडक बोहराले २२ रन, सामिउल्लाह सिनवारि २० रन र दिलिप नाथले १० रन जोडे ।
लुम्बिनीका सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान दुई विकेट लिए । प्यात ब्राउन र इसान पाण्डेले एकरएक विकेट लिए ।
लुम्बिनी १० खेलमा ८ जित र दुई हारको नतिजासहित १६ अंक जोडेर शिर्ष स्थानमा छ भने जनकपुर १० खेलमा १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा यथावत छ ।















प्रतिक्रिया