
काठमाडौं, २२ पुस । ३६ घण्टाका लागि युद्धविराम गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्णय युक्रेनले अस्वीकार गरेको छ ।
युक्रेनका फौजहरूको अग्रतालाई रोक्ने र रुसी सैनिकहरूलाई युद्धमोर्चानजिक पुग्न दिने प्रयास स्वरूप मस्कोद्वारा युद्धविराम घोषणा गरिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
मस्कोको समय अनुसार शुक्रवार राति १२ बजेबाट युद्धविराम शुरू हुनेछ जुन समय रुसी अर्थोडक्स क्रिसमसको समय हो ।
रुसी अर्थोडक्स गिर्जाघरका प्रमुख प्याट्रिआर्क किरिलले गरेको अपिल अनुसार आफूले सेनालाई युद्धविराम गर्न आदेश दिएको पुटिनले बताएका छन्।
“किरिलले गर्नुभएको अपिललाई ध्यानमा राख्दै राष्ट्रपतिले रुसी महासङ्घको रक्षा मन्त्रालयलाई युक्रेनी युद्धमोर्चामा ३६ घण्टाका लागि युद्धविराम गर्न निर्देशन दिनुभएको हो,” राष्ट्रपति कार्यालय क्रेम्लिनले एउटा विज्ञप्तिमार्फत् भनेको छ।
युक्रेनलाई पनि सोही अनुरूप कदम चाल्न पुटिनले आग्रह गरे पनि किएभले अस्वीकार गरेको छ।
रुसी अर्थोडक्स गिर्जाघरले ज्यानुअरी ७ तारिखमा क्रिसमस मनाउने गरेको छ। सङ्घर्ष चलिरहेका क्षेत्रमा ठूलो सङ्ख्यामा बस्दै आएका धर्मावलम्बीहरूले शुक्रवार क्रिसमसको पूर्वसन्ध्या र शनिवार क्रिसमस मनाउन सकुन् भनेर पुटिनले युक्रेनलाई पनि युद्धविराम गर्न आग्रह गरेका हुन्।
तर रात्रिकालीन भिडिओ सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले पूर्वी डोन्बास क्षेत्रमा युक्रेनी फौजलाई अगाडि बढ्नबाट रोक्ने तथा आफ्ना थप फौज एवं उपकरणहरू ल्याउने उद्देश्यका साथ पुटिनले युद्धविरामलाई अगाडि सारेको आरोप लगाएका छन्।















प्रतिक्रिया