३० कार्तिक २०८३, सोमबार

म्याग्दीको मौवाफाँटमा प्रहरी चौकी स्थापना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २२ पुस । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकी स्थापना भएको छ । प्रहरी चौकी भवनको बिहीबार गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले उद्घाटन गरे ।

सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने सङ्घीय सरकारको योजनाअनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा रघुगङ्गा गाउँपालिकाले व्यवस्थापन गरेको जग्गामा एक वर्षअघि भवन निर्माण गरिएको हो ।

गण्डकीमा प्रदेश सरकारको सहयोगमा प्रदेश प्रहरी कार्यालयले ठेक्कामार्फत २३ एकाइको भवन निर्माण गरिएको प्रहरी नायब महानिरीक्षक जोशीले बताए । उक्त चौकीमा हवल्दारको नेतृत्वमा पाँच सुरक्षाकर्मी तैनाथ छन् ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार भवन बनाउन २०७७ असोजमा शिवाको–जयलक्ष्मी जेभी बागलुङले ठेक्का लिएको थियो ।

तीनतले भवनमा कार्यालय, ब्यारेक र थुनुवा कक्षका लागि १० कोठा रहेका छन् । भवन निर्माण गर्न रु एक करोड ८६ लाख ९४ हजार खर्च भएको बताइएको छ ।

रघुगङ्गा गाउँपालिकाका जनप्रतिनिधिको पहलमा मौवाफाँटका प्रेमनाथ शर्मा, तारानाथ शर्मा, वीरबहादुर विश्वकर्मा र मिठु खत्रीले भवन बनाउन निःशुल्क तीन रोपनी जग्गा उपलब्ध गराएका थिए । भवन निर्माणस्थलसम्म सडक गाउँपालिकाले निर्माण गरेको हो ।

सदरमुकाम बेनीको जिल्ला प्रहरी कार्यालय मातहत १७ चौकी तथा पोष्ट छन् । घोरेपानी, घार, भुरुङ–तातोपानी, भगवती, पाखापानी, चिमखोला, तिप्ल्याङ, गलेश्वर, कालीपुल, मङ्गलाघाट, रत्नेचौर, सिङ्गा तातोपानी, बाबियाचौर, दरबाङ र ताकममा प्रहरी एकाइ छन् । जिल्ला प्रहरी कार्यालय, ताकम प्रहरी चौकी, सीमा प्रहरी चौकी भुरुङ तातोपानीको मात्र आफ्नै भवन छन् । अन्य प्रहरी युनिट सामुदायिक भवन र भाडाको घरमा सञ्चालित छन् ।