
काठमाडौं, २१ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्नसके मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताएकी छिन् ।
बिहीबार जुत्ता उत्पादक सङ्घले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्नसके मात्र व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने र यसका लागि फूटवेयर उद्योगले पनि महत्वपूर्ण भूमिका खेल्नसक्ने बताइन् ।
सरकार र उद्यमीहरुबीचमा पर्याप्त साझेदारी निर्माण भई नेपाली उत्पादनको बजार बिस्तार तथा निर्यात अभिवृद्धिमा ठोस उपलब्धि हासिल गर्नका लागि प्रदर्शनी उपयोगी माध्यम हुने भण्डारीले विश्वास व्यक्त गरिन् । उनले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक रहेकोमा जोड दिईन्।
स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनका लागि सरकारले ध्यान दिनुपर्ने र यसका लागि कृषि उत्पादन बढाउने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने, जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरु अबलम्वन गर्नुपर्ने उनले बताइन् ।
राष्ट्रपति भण्डारीले निजी क्षेत्र र सरकारले आपसमा उच्चस्तरको समझदारी विकास गरी मुलुकको अर्थ व्यवस्थालाई बलियो बनाउनका लागि सहकार्य गर्नु अत्यावश्यक रहेको धारणा राखिन् । प्रदर्शनी २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा विदेशी कच्चापदार्थ, मेशिनरी र प्रविधिसहितको ४० भन्दाबढी कम्पनीका प्रदर्शनी कक्ष र नेपाली फूटवेयरका ९० कम्पनी सहभागी छन् ।















प्रतिक्रिया